Like us!
Follow us!
Connect us!
Watch us!

कथा: पुनर्जन्म

हरिहर बजगाईं

अर्थ संसार

मंगलबार, २४ पुस २०८०, ०७ : ३५ मा प्रकाशित

कथा: पुनर्जन्म

अन्ततः आज उसले मर्ने नै निश्चय गर्यो।

बाँचुन्जेल झेलेका दुखकै कारण मर्ने निश्चय गरेको उसलाई मर्नका लागि कति पनि दुख गर्न मन थिएन । ऊ सजिलो गरी मर्ने उपायहरु सोच्न थाल्यो ।

कुनै पनि विषयमा धेरै नै गहिरो गरी सोच्ने त उसको बानी नै हो । अनि जीवन नै त्यागेर मृत्युलाई अँगाल्ने विषयलाई उसले गहिरो गरी नसोच्ने त कुरै भएन । मर्ने निश्चय त उसले साँझमै गरेको हो तर सजिलो गरी मर्ने उपायहरु सोच्दासोच्दै रात निकै छिप्पीसकेछ, उसलाई पत्तै भएन । 

सजिलो गरी मर्ने उपायहरुका लागि यति धेरै सोच्दा पनि केहि उपाय नसुझेपछि उसले सोच्यो “मर्नका लागि पनि यति धेरै सोच्नु पर्छ भने त मर्नु र बाँच्नुमा के नै फरक भयो र रु अब धेरै सोच्नु हुन्न । म मर्नका लागि तयार हुनुपर्छ ।” यत्ति सोच्यो र मध्यरातमा ऊ मर्न भनेर निस्कियो ।

मर्नका लागि तयार ऊ अब केहि सोच्न र सम्झन चाहँदैनथ्यो । ऊ सधैं मर्निङ वाक गर्ने बाटो तिर आज मध्यरातमै हिँड्दै थियो । मध्यरातको अँध्यारोमा न त उसलाई कसैले देख्न सक्थ्यो न त ऊ कसैलाई देख्न चाहन्थ्यो । ऊ जीवनको अन्तिम र मृत्युको प्रथम यात्राका लागि निष्फिक्री तयार थियो । 

हिँड्दाहिँड्दै शहरको कोलाहल भन्दा पर पुगेको ऊ टक्क उभियो, जहाँ शहरको घरघरलाई छोएर आएको नदि झरना बनेर खसेको थियो । सायद नदि पनि शहरमा विरक्त थियो । त्यसैले शहर भित्रको कोलाहलमा चुपचाप बहने ऊ, शहरको कोलाहलबाट बाहिरिँदा खुसीले चिच्याएझैं लाग्थ्यो । शहरमा पाइलापाइलामा खुम्चिएर निसास्सिएको ऊ, यहाँभन्दा पर फैलन पाउने देखेर होला लामो सास फेरेझैं लाग्थ्यो ।

मध्यरातको चिसो सिरेटोले हानेपछि ऊ झसङ्ग भयो । 

“मर्न भनेर हिँडेको म के के सोच्दै अल्मलिरहेछु । जिन्दगीमा सधैं अल्मलिएको मान्छे मर्ने बेला पनि अल्मलिनु स्वभाविक नै होला । अब भने म अल्मलिनु हुँदैन ।”  
यत्ति सोचिनसक्दै ऊ मृत्यु यात्राका लागि तयार भयो र अग्लो झरनाबाट हाम फाल्यो । 

...................................................................................................................................................................................................................................................................

मर्नका लागि नदिमा हाम फालेको उसलाई जब चिसो पानीले स्पर्श गर्यो, त्यतिनै बेला उसमा अनौठो शक्तिको सञ्चार भयो । उसले नदिको गहिरो गर्भबाट कसैले उसलाई बोलाएको जस्तो, उसँग केहि कुरा गर्न खोजेको जस्तो महशुस गर्यो। । जब उसको शरिर नदिको दह भित्र झम्लङ्ग पर्यो, उसले नदिले नै आफूसँग कुरा गर्न खोजेको पायो ।

नदिः हे मानव, तिमी किन मर्न चाहन्छौ ?
ऊः म दुखबाट मुक्त हुन चाहन्छु ।

नदिः तिमी किन दुखी छौ ?
ऊः मैले यो जुनीमा सोचेको जस्तो केहि पनि भएन ।

नदिः तिमीले के सोचेका थियौ ?
ऊः मेरो सुन्दर संसार होस् । माया प्रेम, सुख र शान्ति होस् । धनसम्पत्ति, मानसम्मान, इज्जत र प्रतिष्ठा होस्।

नदिः ओ हो ११ पख, पख, तिमीले त धेरै कुरा पो सोचेका रहेछौ । शायद सबै मान्छेहरु यस्तै सोच्छन् होला । त्यसैले त धेरै दुखी छन् । अनि बिनाहकमा मर्न चाहन्छन् । 

म तिमीलाई तिमीले सोचेको कुरा दिन त सक्दिन, तर तिमीलाई अकालमा मर्नु हुँदैन, नमर भन्न चाँहि सक्छु । तिमी मर्न कै लागि मेरो सामुमा आएपछि मैले तिमीलाई केहि कुरा भन्नै पर्छ, त्यसैले तिमी म सँग केहि बेर कुरा गर । मर्नका लागि त तिमीसँग जति पनि समय छँदैछ ।

ऊः म सधैं दुखमात्र सहेर कसरी बाँच्नु त ?
नदिः हे मानव, तिमी आफ्ना दुखमात्र नहेर । अरुको दुख पनि हेर । 

मैले यो संसारलाई जीवन दिएको छु । तर यो संसारले मेरो जीवन नै समाप्त गर्न लागिरहेको छ । मेरो शरिरलाई कहिँ कोपरेको छ, कहिँ चिथोरेको छ । मलाई कहिँ थुनेको छ, कहिँ सुकाएको छ । मेरो आकृति, मेरो लय र मेरो गतिलाई नै तहसनहस गरिदिएको छ । 

यो सबै कुराले म दुखी छैन र  रु संसारलाई जीवन दिने मेरो आफ्नो जीवन छैन र  रु तर पनि संसारलाई दिँदाको आनन्दले दुखलाई बिर्सिएर तिमीले बाँचेको भन्दा धेरै लामो जीवन बाँचेको छु । 

ऊः मेरो गल्ति नहँदा पनि म सजाएको भागि हुनु परेको छ । अपजस खेप्नु परेको छ । यसैले म जीवन देखि विरक्त छु ।

नदिः हेर, तिम्रो र मेरो विधाता एकै हुन् । तिमी जे जे कुराको भागि छौ म पनि तिनै कुराको भागि छु । 

तिमीले देखेकै छौ । कहिलेकाँहि मेरो बाटो छेकेर, मलाई खुच्याएर वा भनौं मलाई सिध्याएर बनेका मानवका स्वप्न संसारहरु मेरो वेगमा विलुप्त हुन्छन्, नासिन्छन् । तर मानिसहरु आफ्नो गल्ति देख्दैनन् र आजीवन मलाई र विधातालाई सरापेर बाँच्छन् । म आफूले केहि नगर्दानगर्दै पनि अपजस खेपिरहेको छु । गल्ति नगरे पनि अपजस खेप्नुपर्ने संसारमा तिमी एक्लो होइनौ ।

ऊः म हेलाँको पात्र भएर कसरी बाँचौ ?

नदिः म मानिसलाई हराभरा वातावरण दिन्छु । सफा र सुन्दर संसार दिन्छु । मानिसले नै गरेको फोहोरलाई सफा गर्दागर्दै म मैलो हुन्छु । दुर्गन्धित हुन्छु । अनि हेर त, त्यहि मानिस जसको कारण म मैलो र दुर्गन्धित भएको छु, उसैले मलाई देखेर नाकमुख छोपेर हिँड्छ । कतिले त मलाई थुकेर पनि हिँड्छन् । 

जो जो मानिसले मलाई छिःछिः र दुरदुर गर्छन् अनि सकेसम्म हेँला गर्छन् नि, त्यो सबैको कारण तिनै मानिस हुन्, म होइन । तर पनि मैले हेँला र अपमान सहनै पर्दछ । अरुलाई हेँला र अपमान गर्नु त आजको मानिसको आदत नै भइसकेको छ । यस आदतले मानिसलाई साँच्चै नै रोगी बनाएको छ । अब जो आफैं रोगी छ उससँग के गुनासो गर्नु, हैन ररु त्यसैले तिमी अरुले तिमीलाई हेँला र अपमान गरे भनेर दुखी नहोऊ । तिमी आफूले अरुलाई उचित सम्मान गर्न सक्यौ कि सकेनौ भनेर सचेत बन । यति गर्न सक्यौ भने तिमी दुखी हुने छैनौ । 

ऊः म हरेक पल्ट असफल भएर किन बाँचौं ?

नदिः साँच्चै नै दुनियाँ सफलताको भोको छ । आज जो कोहि पनि हर हालतमा सफल हुन चाहन्छ । तर मानिसले सफलताको दाँजो अरुसँग मात्रै गर्दछ । आफूसँग गर्दैन । अरुको दाँजोमा सफल हुनु वास्तविक सफलता होइन । वास्तविक सफलता त हिजो भन्दा आज आफैं भन्दा सफल हुनु हो । तर मानिसले यो कुरा बुझ्नै सकेको छैन । मानिसको अरु भन्दा सफल हुने हठले आज संसार अशान्त र कहाली लाग्दो भएको छ । त्यसैको परिणाम तिमीजस्ता कयौंका जीवन यात्राहरु सुरु नहुँदै अन्त्य हुन्छन् ।  

फेरि मलाई हेर त । म जन्मँदा चोखो र पवित्र हुन्छु । तर मानिसका वस्तिहरुले मलाई मैलो र दुर्गन्धित बनाउँछन् र तिनैले मलाई हेँला र अपमान पनि गर्छन् । तर पनि म बिचलित नभई बगिरहन्छु । आफूमा लागेका फोहोर र दागहरुलाई बिसाउँदै फेरि सङ्लिन्छु । सकेसम्म अरुलाई आफूमा समेटेर आफू विशाल हुने कोसिस गरिरहन्छु । 

फेरि अर्को मानव वस्तीले मलाई कोपर्छ, साँघुराउँछ, सुकाउँछ, मैलाउँछ अनि हेला र अपमान पनि गर्छ । र पनि म हिम्मत हार्दिन र निरन्तर बाँचिरहेको छु ।

हेर मानव, मर्ने एउटा कारण हुन सक्छ । तर बाँच्नका लागि हजारौं कारणहरु छन् । तिमी पनि आफूले बाँच्नुपर्ने कारण पत्ता लगाऊ र मर्नका लागि हैन बाँच्नका लागि प्रयाश गर । यसैमा सबैको हित छ । यो नै विधाताको चाहना पनि हो ।

............................................................................................................................................................................................................................................................

एकाएक दहमा छाल उठ्यो र कुराकानीको सिलसिला भङग भयो । छालले उसको शरिरलाई दहबाट निकालेर किनारा लगाइदियो । नदिको किनारमा बालुवा र कङ्कडमा शरिर घिस्रँदा उसलाई दुख्यो र ऊ झल्याँस भयो । उसलाई आफू सपनामा छु कि विपनामा भन्ने नै अन्योल भइराखेको थियो  । उसले शरिरलाई अलिकति हलचल गरायो र विस्तारै उठ्यो । मर्नभनी हिँडेदेखि अहिलेसम्मका सारा कुराहरु उसको मानसपटलमा एकएक गरी घुम्न थाले । नदिसँग गरेको कुराले उसलाई निकै नै झकझकायो । फेरि एकपल्ट नदि तिर हेर्यो। आफू हाम फालेको दहमा उदाउँदो सूर्यको प्रष्ट आकृति देख्यो । केहि बेर के के सोचिरह्यो । 

केहिबेर सोचेपछि उसले नदिले भनेजस्तै बाँच्नका लागि एउटा कारण खोज्ने प्रण गर्यो। मर्नका लागि हिँडेको ऊ पुनर्जन्म पाएर फर्कियो ।

हरिहर बजगाईं

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको