दीपेन्द्र भण्डारी
धनगढी– हेलो !
सेभ नभएको नम्बरबाट आएको फोनको उत्तर दिन नपाउँदै पुनः सोधियो –‘भाइ म बझाङबाट ज्ञानबहादुर विष्ट बोलेको ।’
‘ए सचिव साव ! नमस्कार’
मैले नमस्कार भन्न नपाउँदै उनले फेरी भने –‘भाइ मसँग अलिकति भारु पैसा थियो, के गर्ने होला ? भारु विनिमयको माध्यम यही हो भन्ठाने जस्तो गरी सोधिएको प्रश्नको उत्तर मसंग थिएन ।
‘दाई मलाई त थाहा भएन,’ मैले भने ।
‘त्यहाँ साटिन्छ अरे नि त ! साटिदेऊ न है ।’
छिमेकी काकीले एक सातादेखि भारु साट्न गरेको करकरले भएको दिमाग ह्याङ ठीक नहुँदै फेरि आएको फोनले झन् सतायो ।
नोभेम्बर ८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय ५ सय र १ हजार दरका नोटमा प्रतिबन्ध घोषणा गरेपछि नेपालमा पनि त्यसको तरंग मच्चिएको छ । सुरपश्चिमका दूरदराजमा नागरिकले भारतमा श्रम बगाएर कमाएको रकम कागज हुने भएपछि उनीहरु आफन्त र जान्नेसुन्ने कहाँ रोइकराइ गर्न थालेका छन् ।
आफूसंग भएको भारतीय रुपैयाँ साट्न उनीहरुलाई निकै सकस भएको छ । विनिमय दरभन्दा घटेरसमेत पैसा साट्न खोज्दा नपाएपछि सिमावर्तीबासी यति वेला पीडामा छन् । यस अघिजस्तै सामान्य तवरले नोट प्रचलनमा नआउने भएपछि सुदूरपश्चिमका नौ जिल्लाबाट मानिसहरु नोट साट्न नेपाल राष्ट्र बैंक धनगढी क्षेत्रीय कार्यालय पुग्न थालेका छन् । त्यसैगरी कामको सिलसिलामा भारत जानु पर्न सयौं सेवाग्राही भारु लिन दैनिक राष्ट्र बैंक पुग्ने गरेका छन् ।
पाँच सय र हजारका भारु नोट प्रतिबन्धित भएपछि भारतीय नोटको अभाव बढेको हो । नेपाली मुद्रासँग भारतीय रुपैया साट्न बिहान उज्यालो नहुँदै सर्वसाधारण राष्ट्र बैंक पुग्ने गरेका छन । केही सातायता राष्ट्र बैंकमा बिहानैदेखि भारु साट्नेहरुको निकै लामो लाईन देखिन्छ ।
राष्ट्र बैंकले यसअघि नागरिकताका आधारमा एक दिन १ सय जनालाई ५ हजारका दरले एक सय भारुका नोट साटेर दिने गरेको थियो । तर बैंकमा समेत भारुको अभाव हुन थालेपछि सोमबारदेखि भारु सटहीको कोटा घटाएको छ । प्रतिदिन ७५ जनालाई २ हजार रुपैयामात्र साट्ने व्यवस्था सोमबारदेखि राष्ट्र बैंकले लागू गरेको हो ।
उपचार, पढाई, काम आदि विभिन्न कारणले दैनिक सयौं नेपाली भारत जाने गर्छन । भारत जान भारतीय रुपैयाँ आवश्यक पर्ने भएकाले भारु साट्न बैंकमा सेवाग्राहीको भीड बढेको हो । पाँच सय र हजारका नोट प्रतिबन्ध भएपछि नेपाली रुपैयासँग १ सयका भारु नोट साट्नेहरुको भीड बढेको हो ।
भारु साट्न दैनिक सयौं सेवाग्राही पुग्ने गरे पनि कतिपय पालो नपाएर फर्कने गर्छन । धनगढी फूलबारीका राजकुमार सुनारले तीन दिनसम्म भारु साट्न नसकेको बताए । उपचारका लागि भारत जानुपर्ने भएकाले त्यहीँको नोट साट्नु परेको उल्लेख गर्दै उनले मुस्किलले भारु साटेको बताए ।
‘बिहीबार र शुक्रबार ढिलो पुगेकाले पालो आएन । आज बिहानै आएर लाईनमा लागेपछि बल्ल पालो आयो,’ सुनारले भने । घाँटीसम्बन्धी रोगको शल्यक्रियाका लागि लखनउ जान भारुको अभावमा ढिलो भएको धनगढी–१२, जुगेडाका लोकबहादुर थापाले बताए ।
उनले उपचारका लागि बढी पैसा लाग्ने भए पनि राष्ट्र बैंकबाट दुई हजार रुपैयामात्र पाएको सुनाए । थापाले भने–‘हिजो ४ घण्टासम्म लाईनमा बसें तर पालो आएन । आज बल्ल पालो आयो । आजैदेखि दुई हजार मात्र साट्ने व्यवस्था गरेको रहेछ ।’
बिहान ९ बजेतिर भारु साट्नेको लाईनमा भेटिएका धनगढीबाट नजिक पर्ने कञ्चनपुरको राजघाटका श्रीकृष्ण रानाले ६ बजे नै आफू आएको बताए । एक जना आफन्तलाई उपचारका लागि भारत लग्नुपर्ने भएकाले भारु साट्न आएको उनले बताए ।
नजिक बसाइ भएका व्यक्तिले बिहान सबेरै आएर लाइनमा लाग्दा मुस्किलले भारु साट्न पाउँछन् तर टाढाबाट रपैयाँ साट्न आउने सेवाग्राहीले भने कयौं पटक पैसा साट्न नपाएर फर्कनु परेको बताएका छन् ।
नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रृत थापाले भारु साट्नका लागि बिहान सबेरैदेखि राष्ट्र बैैंकमा सर्वसाधारणको भीड लाग्ने गरेको बताए । ५ सय र हजारका भारु नोट प्रतिबन्ध भएपछि भारुको अभाव बढेको उनले बताए ।
दिनमा निश्चित संख्यामा सेवाग्राहीलाई निश्चित रकम दिनुपर्ने बाध्यता भएकाले धेरैजसो सेवाग्राही भारु साट्न नपाएर फर्कने गरेका राष्ट्र बैंक धनगढीले जनाएको छ । राष्ट्र बैंकसंग मौजदात भारु सकिन लागेकाले सोमबारदेखि दैनिक ७५ जनालाई २ हजारका दरले भारु साट्ने व्यवस्था गरेको निर्देशक थापाले बताए ।
काम विशेषले भारत जानेहरुले एटीएमलगायत बैंकिड्ड प्रकृयामार्फत कारोबार गरे केही सहज हुने उनले बताए । ‘उपचार, पढाई आदि विभिन्न कामले दैनिक भारत जानेको संख्या ठूलो छ ।’ निर्देशक थापाले भने–‘रकम बोकेर जानुभन्दा कार्ड आदि बैंकिड्ड च्यानलमार्फत भारतमै रकम निकाल्ने व्यवस्था गर्न सके सजिलो हुनसक्छ ।’
यस्तै भारु ५ सय र एक हजारका नोट साटिनेबारे बुझ्नका लागि पनि सर्वसाधारण राष्ट्र बैंक पुग्ने गरेका छन् ।
भारु नोटको प्रतिबन्धले नेपालमा रहेका ५ सय र एक हजारका करोडौं रकम जोखीममा परेको छ । सीमावर्ती भारतीय गौरीफण्टा बजारमा एक हजार भारुको नोट नेपाली एक हजार दुई सयदेखि एक हजार चार सय रुपैयासम्ममा त्यहाँका व्यापारीहरुले साट्ने गरेका छन् ।
सुदूरपश्चिमबाट रोजगारका लागि भारत जानेको संख्या ठूलो रहेको छ । फर्कदा नेपाली कामदारले भारु ठूला नोट ल्याउने भएकाले यस क्षेत्रमा करोडौं रुपैया बराबरका त्यस्ता नोट रहेका बताइन्छ । प्रतिबन्धित भारु नोट साट्नेबारे केन्द्रबाट पहल भईरहेको राष्ट्र बैंक धनगढीका निर्देशक थापाले बताए । नेपालमा रहेका प्रतिबन्धित भारु नोट साटिने÷नसाटिनेबारे केही भन्न सक्ने अवस्था नरहेको उनले बताए
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस