Like us!
Follow us!
Connect us!
Watch us!

चोर बाटो अमेरिका र क्यानडा लैजाने भन्दै साढे पाँच करोड ठगी गर्ने तीन पक्राउ, पीडित ६ महिना केन्यामा बन्धक

अर्थ संसार

शुक्रबार, २८ बैशाख २०८१, १३ : ५० मा प्रकाशित

चोर बाटो अमेरिका र क्यानडा लैजाने भन्दै साढे पाँच करोड ठगी गर्ने तीन पक्राउ, पीडित ६ महिना केन्यामा बन्धक

चोर बाटोबाट अमेरिका र क्यानडा लैजाने भन्दै साढे पाँच करोड ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।

वैदेशिक रोजगारीका लागि अमेरिका तथा क्यानडा लगायतका देशहरुमा पठाइदिने भनि विभिन्न तवरले विश्वास दिलाई राहदानी, फोटो, पुलिस रिपोर्ट, बैंक स्टेटमेन्ट समेतका कागजातहरु लिई पैसा असुल्ने गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उक्त गिरोहले १० जनाबाट पटक पटक पैसा लिएर उनीहरुलाई दुबई हुँदै केन्यासम्म जाने हवाई टिकट दिई केन्या समेत पुर्याएको प्रहरीले जनाएको छ ।

केन्यामा पुर्याएर पीडितहरुसँग भएको डलर समेत अन्य अफ्रिकी मुलका एजेन्टबाट लिन लगाई अलपत्र पारी खान बस्न समेत नदिई झुक्यानमा पारी मोटो रकम लिई मानव तस्करी तथा ठगी गरेको भन्दै १० जनाले ठगी सम्बन्धी कसूर समेतमा जाहेरी दरखास्त दिएका थिए । सोही जाहेरीको आधारमा प्रहरीले ङिमवुटी शेर्पा, उनको श्रीमान् दावा शेर्पा र टासी शेर्पालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई मानव तस्करी गरी ठगी गरेका अपराधमा आवश्यक कारबाहीको लागि प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अनुसन्धानबक्ट उनीहरुले आफ्नै छोरोलाई अवैध बाटो प्रयोग गरी अमेरिका पठाएको उदाहरण दिई गाउँका अन्य सोझा सीधा मानिसहरुलाई दिई सोहि बाटो र प्रकृया अपनाई अमेरिका क्यानडा लगायतका देशमा पठाउने, फुड प्याकिङको को सजिलो कामबाट मासिक ४ लाख माथि कमाई हुन्छ भन्ने समेतका प्रलोभन दिने गरेको खुलेको थियो । पक्राउ पर्नेमध्ये ङिमवुटी शेर्पाले एउटै घरमा रेष्टुरेन्ट, ब्युटी पार्लर तथा चिया पसल समेत सञ्चालन गरी सोही स्थानमा पीडितहरुलाई बोलाई कुराकानी तथा कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

गिरोहले भिषा निकाल्न तथा एप्लाई गर्न भनि सुरुमा पाँच लाख रुपैयाँ, दुई/तीन दिन पछि भिषा आइसक्यो भन्दै टिकट काट्न ५-७ लाख, डलर साट्न ५ लाख लाग्छ भन्दै प्रति व्यक्ति ५० लाखसम्म रकम उठाउने गरेको प्रहरीले जनाएको छ । काठमाडौंबाट दुबई ट्रान्जिट बनाई केन्याको राजधानी नैरोबी स्थित जोमो केन्याट्टा अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि निजहरुले सम्पर्क गराएका अफ्रिकी मुलका एजेन्टले ट्याक्सीमा राखी केन्याको जिम्मारमान स्थित भाडामा लिइराखेको घरको २ वटा फ्ल्याटमा लगि पीडितलाई ६ महिना राखेका थिए ।

उक्त घरमा पुग्ने बित्तीकै पीडितहरुबाट २०० / ३०० डलर मात्र बाँकी राखी सबै डलर र पासपोर्ट एजेन्टहरुले नै लिएर र काम हुँदैछ भनि ६ महिनासम्म कोठामा बन्धक बनाई राखेका थिए । त्यसपछि प्रहरीले दुःख दिन्छ भनि कोठाबाट गाडिमा राखी अन्दाजी १ घण्टाको दुरीमा रहेको नैरोवी स्थित किनो भन्ने स्थानमा अर्को घरको फ्ल्याटमा लगि दुई/तीन महिना राखेपछि प्रहरीले समात्छ भनि पासपोर्ट फिर्ता गरिदिएको पीडितले जनाएका थिए ।

पासपोर्ट प्राप्त गरेपछि त्यहाँ बस्दा लागेको खर्च पीडितहरुले आफ्नो घर तथा साथीहरुबाट मगाई तिरी हवाई टिकट समेत आफैंले काटी नेपाल फर्किएका थिए । तस्करहरुले अमेरिका पुऱ्याउन केन्याबाट क्यानडा, ब्राजिल, कोलम्बिया, मेक्सिको मध्ये कुनै रुट प्रयोग गरी पठाउने गरेको खुलेको छ । गिरोहले करिब १५ जना नेपालीहरुलाई अमेरिका पठाउन केन्या लगायतका विभिन्न देशहरुमा अहिले पनि बन्धक बनाई राखिरहेको र उनीहरुबाट करिब ७ करोड ५० लाख रकम लिएको खुलेको छ ।

प्रहरी सम्पर्कमा आएका १० जना पीडितहरुबाट मात्रै गिरोहले ५ करोड ५० लाख रकम लिएको प्रहरीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको