Like us!
Follow us!
Connect us!
Watch us!

महिला सशक्तीकरणका लागि लक्ष्मी सनराईज बैंकको ‘शिक्षित लक्ष्मी’ पहल

अर्थ संसार

शुक्रबार, ०४ जेठ २०८१, १६ : ४२ मा प्रकाशित

महिला सशक्तीकरणका लागि लक्ष्मी सनराईज बैंकको ‘शिक्षित लक्ष्मी’ पहल

लक्ष्मी सन्‌राईज बैंकले महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिनको लागि ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ।

बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैंकले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाई एउटै छाताभित्र ल्याएको हो ।

यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरुलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको बैंकको भनाइ छ।

यस पहल अन्तर्गत आगामी ७ वर्षमा कूल  ३५ लाख रकम प्रदान गर्ने गरी बैंकले हालै समता एजुकेशन ट्रस्टसँग समझदारी (एमओयू) गरेको छ । सो रकमले देशभरीका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरुले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन् ।

यसै गरी बैंकले आगामी ५ वर्ष सम्ममा रू १ करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरेको छ । सो कोष मार्फत सोही विश्वविद्यालयबाट एसटीईएम (विज्ञान, प्रविधि, इन्जिनियरिङ्गग र गणित) विषयहरुमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाहरुले छात्रवृत्ति प्राप्त गर्नेछन् । सो कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरुको संख्या वर्षेनी बढाउदै लगिने छ ।

यस छात्रवृत्ति मार्फत २०२४ ब्याचका इरादा सुवेदी (एम. इ. स्ट्रकचरल इन्जिनियरिङ्ग) र सुनेना न्याछ्योँ (एम.एससी.इ एस) हाल अध्ययनरत छन् ।
यस अघि पनि बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा नेपालभरीका प्रहरी विद्यालयहरुमा अध्ययनरत योग्य छात्राहरुलाई यस्तै प्रकारको अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस बाहेक बैंकले छात्राहरुलाई अन्य क्षेत्रहरुमा सहयोग गर्नुका साथै महिला उत्थानका लागि विभिन्न अभियानहरु संचालन गर्दै आएको छ ।

यी प्रयासहरूले लक्ष्मी सन्‌राईज बैंकको ‘शिक्षित लक्ष्मी’ मार्फत शिक्षाको प्रवर्द्धन र महिला सशक्तिकरण प्रतिको प्रतिबद्धतालाई झल्काउँछ। लैङ्गिक समानतालाई आत्मसाथ गर्दै विभिन्न क्षेत्रहरूमा महिलाहरूको उत्थानमा टेवा पुर्याउने सो पहल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको एक मुख्य अङ्ग हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको