Like us!
Follow us!
Connect us!
Watch us!

बढेन कर्जाको माग, बैंकिङ प्रणाली अझै ६ खर्ब लगानीयोग्य रकम ,अन्तरबैंक ब्याजदर कति ?

अर्थ संसार

मंगलबार, २२ जेठ २०८१, १६ : ११ मा प्रकाशित

बढेन कर्जाको माग, बैंकिङ प्रणाली अझै ६ खर्ब लगानीयोग्य रकम ,अन्तरबैंक ब्याजदर कति ?

कर्जाको माग नबढ्दा बैंक तथा वित्तीय संस्थामा ६ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । निक्षेप बढिरहे पनि त्यसको अनुपातमा कर्जा प्रवाह नबढ्दा हरेक महिना लगानी गर्न मिल्ने रकम थुप्रिँदै आएको हो । 

गत साउनदेखि शुक्रबार (जेठ १८) सम्म ४ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन हुँदा २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । यो अवधिमा निक्षेपको वृद्धिदर ७.९ र कर्जाको ५ प्रतिशत मात्र छ । कर्जाको वृद्धिदर चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले तय गरेको कर्जा विस्तारको लक्ष्यको तुलनामा आधाभन्दा धेरैले कम हो । चालु आर्थिक वर्ष सकिन अब करिब साढे १ महिना मात्र बाँकी रहेकाले त्यो अवधिमा कर्जाको लक्षित वृद्धिदर प्राप्ति गर्न नसकिने र वृद्धिदर ६ प्रतिशत हाराहारीमा मात्र हुने जानकारहरू बताउँछन् ।

चालु आर्थिक वर्षमा राष्ट्र बैंकले साढे ११ प्रतिशतले कर्जा विस्तारको लक्ष्य तय गरेको थियो । यो वर्ष लक्ष्यअनुसार कर्जा विस्तार नभए पनि गत वर्षको भन्दा बढी नै छ । गत आर्थिक वर्षभरमा १ खर्ब ६४ अर्ब (वृद्धिदर ३.३८ प्रतिशत) कर्जा विस्तार हुँदा निक्षेप संकलन ६ खर्ब १२ अर्ब (वृद्धिदर ११.३१ प्रतिशत) भएको थियो  ।

निक्षेप बढ्दा बैंकहरुको औसत सीडी रेसियो जेठ १८ गते घटेर ८०.०८ प्रतिशतमा झरेको छ। अघिल्लो दिन सीडी रेसियो ८०.१७ प्रतिशत थियो। अन्तरबैंक ब्याजदर भने ३ प्रतिशत तल नै रहेको छ।

राष्ट्र बैंकले विभिन्न किसिमका कर्जामा गरेको कडाइले पनि कर्जा लगानी बढ्न नसकेको हो। केन्द्रिय बैंकले चालु पूँजी कर्जामा कडाइ गरेको छ भने अन्य अनुत्पादक क्षेत्रमा जाने कर्जामा पनि कडाइ गरेको छ। यसले गर्दा पनि कर्जा लगानी बढ्न सकेको छैन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा साढे ११ प्रतिशत कर्जा विस्तारको लक्ष्य लिएको छ। उक्त कर्जा विस्तारको लागि बैंकहरुसँग लगानीयोग्य रकम भएपनि अहिले कर्जाको माग नै न्यून छ।

अहिले अर्थतन्त्रमा माग पक्ष कमजोर भएको कारण पनि बैंकहरुको कर्जा लगानी बढ्न नसकेको विष्लेषण हुने गरेको छ। अर्थतन्त्रमा नै माग घटेको कारण उद्योग व्यवसाय पनि कम क्षमतामा चलिरहेका र यसले गर्दा पनि व्यवसायीले थप कर्जा लिन आँट गरेका छैनन्।

गत आर्थिक वर्षमा पनि केन्द्रिय बैंकले १२.६ प्रतिशत कर्जा विस्तार गर्ने लक्ष्य लिएको थियो तर साढे ३ प्रतिशत मात्रै कर्जा विस्तार भएको थियो ।

पानी पर्ने सिजनमा निर्माण क्षेत्र समेत सुस्त हुने भएकोले पनि कर्जाको माग कम रहेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चत राज पाण्डे बताउछन्। साउनमा कर्जा विस्तार नभएपनि विस्तारै कर्जाको माग बढ्ने उनको आँकलन छ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको