Like us!
Follow us!
Connect us!
Watch us!

न्यू क्यालेडोनियाको मतदान सुधारबाट पछि हट्यो फ्रान्स

अर्थ संसार

विहीबार, ३१ जेठ २०८१, २० : ५१ मा प्रकाशित

न्यू क्यालेडोनियाको मतदान सुधारबाट पछि हट्यो फ्रान्स

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले न्यू क्यालेडोनियामा लागू भएको मतदान सुधारलाई निलम्बन गरेको घोषणा गरेका छन् । यी मतदान सुधारहरूको कारणले गर्दा हालै क्यालेडोनियामा गम्भीर हिंसा भड्किएको थियो । न्यु क्यालेडोनिया, हिन्द प्रशान्त महासागरका पाँचवटा टापु क्षेत्रहरू मध्ये एक हो, जुन फ्रान्सद्वारा प्रशासित छ । 

मतदान सुधारलाई लिएर ठूलो विवाद भएको थियो । फ्रान्सले भर्खरै न्यू क्यालेडोनियामा मतदानको सन्दर्भमा केही सुधार गरेको थियो । न्यू क्यालेडोनियामा मतदान गर्ने अधिकार १९९८ भन्दा पहिले न्यू क्यालेडोनियामा बस्ने मानिसहरूलाई मात्र सीमित थियो । यस कानूनको उद्देश्य क्यालेडोनियामा बसोबास गर्ने मूल निवासी र अल्पसंख्यक कनक समुदायलाई बढी प्रतिनिधित्व दिनु थियो । तर, पेरिसले यो व्यवस्थालाई अलोकतान्त्रिक मान्दै र फ्रान्सेली संसदले कानूनमा सुधार गर्दै १० वर्षसम्म क्यालेडोनियामा बसोबास गर्ने मानिसहरूलाई मतदान गर्ने अधिकार दिने निर्णय गरेको थियो । 

फ्रान्सेली सरकारको यो निर्णयले स्थानीय जनता आक्रोशित हुदै प्रदर्शनमा उत्रिएका थिए । स्थानीय मानिसहरूले यो निर्णयले उनीहरूलाई सीमान्तीकृत गर्ने र क्यालेडोनियामा आफ्नो प्रभाव गुमाउने डर रहेको बताएका छन् । क्यालेडोनियामा पनि फ्रान्सबाट स्वतन्त्रताको मागले गति लिइरहेको छ । हिंसा भड्किएपछि राष्ट्रपति म्याक्रोनले क्यालेडोनियाका प्रतिनिधिहरूलाई छलफलका लागि पेरिसमा आमन्त्रित गर्दै वार्ताबाट समाधान खोज्ने कुरा गरेका थिए । तर अब राष्ट्रपति म्याक्रोनले यी सुधारहरू स्थगित गर्ने निर्णय गरेका छन् ।

न्यू क्यालेडोनियामा मतदान सुधारको विरोधमा भएको प्रदर्शनमा तीन जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् । हिंसाका कारण क्यालेडोनियाका विद्यालय, कलेज र विमानस्थल बन्द गर्नुका साथै राजधानी नोउमामा कर्फ्यू लगाइएको थियो । त्यसयता कैयौँ छिटपुट हिंसाका घटना भएका छन् ।

न्यू क्यालेडोनिया अस्ट्रेलियाबाट करिब १५०० किलोमिटर पूर्वमा अवस्थित छ । यहाँको जनसंख्या २ लाख ७० हजार रहेको छ । जसमध्ये ४१ प्रतिशत मेलानेसियन कनाक र २४ प्रतिशत युरोपेली मूलका मानिस छन् । यो टापु बेलायती अन्वेषक जेम्स कुकले पत्ता लगाएका थिए र यसलाई फ्रान्सले सन् १८५३ मा आफ्नो नियन्त्रणमा लिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको