Like us!
Follow us!
Connect us!
Watch us!
सरकार निजी साझेदारी मोडलमा स्थापना भयो फन्ड, १ करोडभन्दा माथिका परियोजनामा लगानी गर्ने

तपाईसँग विजनेशको नयाँ आइडिया छ ? अब लगानी गर्नेछ स्टार्टअप फन्डले

कृष्ण भट्टराई

शुक्रबार, १० मंसिर २०७३, १४ : १६ मा प्रकाशित

तपाईसँग विजनेशको नयाँ आइडिया छ ? अब लगानी गर्नेछ स्टार्टअप फन्डले

काठमाडौं–तपाईंसँग इन्नोभेटिभ आइडिया छ ? केही ब्यवसाय गर्न चाहनु हुन्छ ? लगानी गर्ने रकम नभएर त्यतिकै बस्नु भएको छ ?

आइडियालाई ठोस रुप दिन तयार हुनुस् । सरकारको समेत लगानी रहेको इमर्जिङ नेपाल लिमिटेडले स्टार्ट अप फन्ड स्थापना गरेको छ । तपाईं आइडिया ल्याउनुस् । इमर्जिङ नेपालले तपाईंलाई १ करोड रुपैयाँभन्दा माथिका परियोजनामा इक्युटीमा लगानी गर्नेछ । त्यसका लागि कम्पनीले पुस १४ गतेसम्म आवेदन गर्न आह्वान गरिसकेको छ । 

देशका उद्यमी समुदायका नयाँ विचारहरुलाई देशको आर्थिक विकासमा संलग्न राउन, नयाँ उद्योग संचालनका लागि प्रोत्साहन गर्न, देशमा रोजगारीको अबसर सिर्जना गर्न, नयाँ विचार तथा सोचहरुलाई वास्तविकतामा परिणत गर्न आवश्यक पूँजी उपलब्ध गराइ औद्योगिकीकरणमा सहयोग गर्न इमर्जिङ नेपालले स्टार्टअप फन्डको प्रारंभ गरेको कम्पनीका अध्यक्ष लालमणि जोशीले शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

कम्पनीले नेपाली नागरिक र नेपालमा दर्ता भएका संघ संस्थाहरुलाई शिक्षा, पर्यटन, कृषि, तथा जडिबुटी, मझौला तथा साना ब्यवसाय, स्वास्थ्य, शिक्षा, सूचना तथा प्रविधिलगायतका क्षेत्रमा क्रिएटिभ र इन्नोभेटिभ परियोजनामा लगानी गर्ने लक्ष लिएको जनाएको छ ।

कम्पनीले इक्युटीमा पूँजी प्रवाह गर्न पहिलो चरणमा अबधारणापत्र मागेको छ । ती कम्पनीमध्ये छनौटमा परेका परियोजनाहरुको दोस्रो चरणमा विस्तृत ब्यवसाय प्रस्ताव तयार गरी लगानी गरिने अध्यक्ष जोशीले जानकारी दिए । सबै परियोजनाको मूल्यांकन तथा छनौट कम्पनीको संचालक समितिले गर्नेछ । 

इमर्जिङ नेपाल कम्पनीमा सरकारको शून्य दशमलव ५ प्रतिशत लगानी छ । त्यस्तै निजी क्षेत्रका आइइमइ ग्रुप, विशाल ग्रुपलगायत २७ ब्यक्ति तथा समुहको लगानी छ । अधिकृत पूँजी ५ अर्ब भएको कम्पनीको चुक्ता पूँजी १० करोड छ । 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत विनोद आत्रेयले विशेष गरी देशको आर्थिक विकासको मुख्य आधार पूर्वाधार विकासका लागि लगानी गर्ने, नेपाल सरकारसँग सम्बन्धित विभिन्न निकायहरुलाई परामर्श सेवा उपलब्ध गराउने, राष्ट्रलाई आर्थिक, शैक्षिक, मेडिकल, टुरिज्म हबका रुपमा विकास गर्ने, नेपाल सरकारसँग समन्वय गरी रुग्ण उद्योगहरुमा लगानी गरेर अथवा ब्यवस्थापन करारमा लिएर संचालन गर्ने जस्ता उद्देश्य लिएर कम्पनी स्थापना भएको बताए ।   

कम्पनीले यी उद्देश्य पूर्ती गर्न केयर रेटिङ (नेपाल) लिमिटेड स्थापनाका लागि आवश्यक काम अगाडि बढाएको जनाएको छ । सरकारले बजेट बक्तब्यमा उल्लेख गरेको सार्बजनिक निजी साझेदारीमा स्थापना हुने पूर्वाधार विकास बैंकसम्बन्धी कामसमेत सुरु गरिएको आत्रेयले जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको