Like us!
Follow us!
Connect us!
Watch us!

ब्राजिलबाट स्वदेश फर्किए बालेन

अर्थ संसार

शनिबार, ०८ असार २०८१, २० : ४५ मा प्रकाशित

ब्राजिलबाट स्वदेश फर्किए बालेन

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् । बैठकमा भाग लिन उनी असार ३ गते ब्राजिलको साओ पाउलो प्रस्थान गरेका थिए । 

स्वदेश फर्किएपछि बैठकमा भएका छलफल र नीति वहसका विषयमा संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘ठूला सहर केन्द्रित बसाइँसराइको क्रमले भविष्यमा बढ्ने चाप व्यवस्थापन गर्न अहिलेदेखि नै नीति र संयन्त्र बनाउनु पर्छ । भौगोलिक, सामाजिक, आर्थिक जस्ता कारणले फरक फरक ठाउँका सहरहरुको समस्या फरक हुन सक्छन् । यति भएर पनि केही साझा कार्यक्रम सञ्चालन हुन सक्छन् । बैठकमा यसका नीतिगत पक्षमा छलफल भयो ।’

निर्देशक समितिका बैठक साओ पाउलोमा असार ५ र ६ गते भएको थियो । बैठकसँगै प्रमुख शाहले ‘मेयरल राउण्ड टेवल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवन स्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति वहस’ मा सहरका भवन तथा बसोबास व्यवस्थापनका विषयमा धारणा राख्दै, ठुला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीका अवसर र सहर जीवनयापनका सुविधाहरु नजिक रहेका सहरहरुमा पुर्‍याएर, ठुला सहरमा केन्द्रीकृत हुँदै गएको जनसंख्याको चाप घटाउन थाल्नुपर्ने बताएका थिए ।  

उनले ती सेटलाइट सहरबाट त्यहाँका सुविधा गाउँमा पुर्‍याउनुका साथै यसले स्थानीय भाषा र संस्कृति पनि बच्ने धारणा राखेका थिए । 

सहरी आवासका आयाम, अभाव र प्रभाव तथा जलवायु जोखिम घटाउन विश्वव्यापी साझा कार्यक्रम, पूर्वाधार विकास, कम कार्बन फुटप्रिन्ट र समुदायका प्रत्येक सदस्यको विविध आवश्यकताहरू पूरा गर्न समावेशी दृष्टिकोण वहसमा उठेको थियो । वहसमा ठुला महानगरपालिकाका मेयर (प्रमुख) हरु सहभागी थिए । 

प्रमुख शाह मेट्रोपोलिस निर्देशक बोर्डको सदस्य हुन् । मेट्रोपोलिस विश्वका ठूला १५० भन्दा धेरै महानगरहरुको आवद्धता रहेको, आपसी र विश्वव्यापी सहयोग, संवाद, ज्ञान तथा समाधान आदानप्रदान गर्ने, सामुहिक आवाज वुलन्द गर्ने अन्तरराष्ट्रिय संस्था हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको