Like us!
Follow us!
Connect us!
Watch us!

एक अर्बको लगानीमा चितवनको लंकालाइनमा ‘रिसोर्ट’ सञ्चालन

अर्थ संसार

सोमबार, २४ असार २०८१, १२ : ११ मा प्रकाशित

एक अर्बको लगानीमा चितवनको लंकालाइनमा ‘रिसोर्ट’ सञ्चालन

चितवनको कालिका नगरपालिका- १ स्थित लंकालाइनमा र १ अर्बभन्दा माथिको लगानीमा ‘रिसोर्ट’ सञ्चालनमा ल्याइएको छ। हिमाल, पहाड र तराइको रहनसहनअनुसारका परिकार पस्किने र संस्कृतिलाई जीवन्त झल्काउने गरी पर्यटन व्यवसायी लाक्पा ढुण्डुप लामाका अगुवाइमा  हालै रिसोर्ट सञ्चालनमा आएको हो।

व्यवसायी लामाले गोरखाको विकट चुमनुब्री गाउँपालिकाको नामरुङमा पनि रिसोर्ट  सञ्चालन गर्दै आएका छन्। जहाँ बाह्य पर्यटक हेलिकप्टरमार्फत पुग्ने गर्दछन्।

उनले भने, ‘लंकालाइनमा सञ्चालित रिसोर्टको विशेषता भनेकै हिमाल, पहाड र तराई सबै भूगोलका परिकार, रहनसहन र संस्कृतिलाई एकै स्थानमा पस्किने नै हो।’

रिसोर्टका अर्का सञ्चालक सुशील चौधरीका अनुसार स्वस्थ रहन रिसोर्टका सबै कोठामा ‘वेलनेस प्रविधि’समेत जडान गरिएका छन्।

उनले भने, ‘रिसोर्टलाई प्रविधि र सेवा सुविधाका दृष्टिकोणले उत्कृष्ट बनाउने प्रयास गरिएको छ। सबै भौगोलिक क्षेत्रअनुसारका संस्कृति, रहनसहन, जनजीवन झल्काउने तीन भिल्ला रिसोर्टमा छन् । पौडीपोखरी भिल्लाभित्रै छन्। एउटा भिल्ला सञ्चालनमा आइसकेको छ। दुई सञ्चालनको अन्तिम तयारीमा छन्।’

उनका अनुसार दुई बिघा क्षेत्रफलमा फैलिएको सो रिसोर्टमा थारु सांस्कृति झल्किने आठ कोठा पनि छन्। रिसोर्टको व्यवस्थापकीय जिम्मेवारी मलेसियन नागरिक डोनाल्ड चले निर्वाह गरिरहेका छन्।

उनले भने, ‘यो रिसोर्टलाई विश्वकै नमूना रिसोर्टमध्येको एक बनाउने प्रयासमा छौं। संस्कृति, रहनसहन, जनजीवनअनुसारको परिकार त छँदै छ। यहाँभित्र पोलिक्लिनिकसमेत छ। विश्वमा बनेका आधुनिक उपकरणको प्रयोग गरेर एलोपेथी र नेचुरोपेथीको समिश्रणमार्फत उपचारको व्यवस्थासमेत गरिएको छ।’

पर्यटन व्यवसायी लामा, चौधरी र राजेन्द्र महतोको साझेदारीमा सो रिसोर्ट सञ्चालनमा आएको हो। व्यवसायी लामाका अनुसार अत्याधुनिक रिसोर्टमा आकस्मिक स्वास्थ्य उपचारसहित हेलिप्याडको समेत सुविधा रहेको छ भने निजी भिल्ला लिएर बस्ने पाहुनाले निजी स्वीमिङ पुल, साउना, ज्याकुचीलगायतको सुविधा पाउने छन्।

यहाँ हिमाल वरपरको स्याउका परिकार, भिर मौरीको मह, यार्सागुम्बालगायत जडीबुटी, जडीबुटीबाट निर्मित तेल, हिमाली खाद्यान्न बिक्रीका लागि राखिएका छन्।

व्यवसायी लामाले भने, ‘चितवनको थारु परिकार, जनजीवन रिसोर्टमा पाइन्छ। रिसोर्टमा हालसम्म रु ५० करोडभन्दा बढी लगानी भइसकेको छ। आगामी छ महिनाभित्रमा पूर्णरूपमा सञ्चालन आउँदै गर्दा लगानी रु एक अर्ब माथि नै पुग्ने छ।’

यहाँ आएका पर्यटकलाई चितवन राष्ट्रिय निकुञ्ज, सिराइचुली, देवघाटलगायतका पर्यटकीय गन्तव्यमा घुमाउने व्यवस्था मिलाएको व्यवसायी चौधरीले बताए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको