Like us!
Follow us!
Connect us!
Watch us!

भक्तपुरको गुण्डुमा ५ तारे रिसोर्ट ‘स्वनिगः’ बन्ने, ४ अर्ब ७५ करोडको लगानी

अर्थ संसार

मंगलबार, ०२ बैशाख २०८२, ०८ : १६ मा प्रकाशित

भक्तपुरको गुण्डुमा ५ तारे रिसोर्ट ‘स्वनिगः’ बन्ने, ४ अर्ब ७५ करोडको लगानी

नयाँ वर्षको पहिलो दिन भक्तपुरको सूर्यविनायक नगरपालिका–७, गुण्डुमा एक महत्वाकांक्षी परियोजनाको भूमि पूजन कार्यक्रम सम्पन्न भएको छ। ‘स्वनिगः रिसोर्ट प्रालि’ले आयोजना गरेको कार्यक्रममा स्थानीय अगुवाहरूको उपस्थितिमा पाँचतारे सुविधा सम्पन्न पर्यटन गन्तव्य ‘स्वनिगः’ को औपचारिक सुरुवात गरिएको हो।

नेवारी शब्द ‘स्वनिगः’ को अर्थ काठमाडौं उपत्यका – काठमाडौं (येँ), ललितपुर (यलः), र भक्तपुर (ख्वपः) – समेटिएको क्षेत्र हो। सोही सांस्कृतिक धरोहरलाई जोगाउँदै परियोजनालाई प्राचीन सभ्यता र आधुनिक अतिथि सत्कारको समिश्रणका रूपमा विकास गरिनेछ।

अन्तर्राष्ट्रिय ब्रान्डको होटल, टाइम-सेयर भिल्ला, र सांस्कृतिक केन्द्र

परियोजनामा एक अन्तर्राष्ट्रिय ब्रान्ड अन्तर्गतको पाँचतारे होटल, ६० वटा टाइम–सेयर मोडेलका भिल्लाहरू, एम्फिथिएटर, लाइभ संगीत स्थल, ध्यान केन्द्र, योग, साइक्लिङ, रक क्लाइम्बिङ लगायत विविध गतिविधिका संरचनाहरू निर्माण गरिनेछ।

पाइलट बाबा आश्रमको छेउमै अवस्थित उक्त स्थानबाट काठमाडौं उपत्यकाका तीनै पुराना शहरको विहंगम दृश्य देख्न सकिने र ‘सुतिरहेको बुद्ध’ जस्तो देखिने डाँडाको सामुन्ने बस्ने विशेषता यस गन्तव्यलाई अझै आकर्षक बनाउने बताइएको छ।

नेपाली र विदेशी साझेदारीमा परियोजना

यो परियोजना इम्प्लिमेन्टिङ एक्सपर्टस् ग्रुप (IEG) र अस्ट्रेलियाको एस एन्ड जेजी होल्डिङ्स को संयुक्त लगानीमा विकास हुँदैछ। आइईजीका अमृतरत्न शाक्य र सुबर्णकृष्ण श्रेष्ठ विगत ५० वर्षदेखि मन्दिर, सत्तल जस्ता संरचना निर्माण तथा होटल व्यवसायमा संलग्न छन्।

एस एन्ड जेजी होल्डिङ्स भने एनआरएनएका पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घले गुरुङको स्वामित्वमा रहेको कम्पनी हो। यस कम्पनीले काठमाडौँको मुटु कान्तिपथमा निर्माण गरिएको पाँचतारे होटल पनि सञ्चालनको तयारीमा छ।

लगानी र सम्पन्नताको लक्ष्य

परियोजनामा करिब ४ अर्ब ७५ करोड रुपैयाँभन्दा बढीको लगानी हुनेछ। निर्माण कार्य आगामी वर्षहरूमा चरणबद्ध रूपमा अघि बढ्नेछ भने सन् २०२७ को नोभेम्बरसम्म सम्पन्न हुने अपेक्षा गरिएको छ।

स्वनिगः गन्तव्यलाई माइस (Meeting, Incentive, Conference, Exhibition), डेस्टिनेसन वेडिङ, अन्तर्राष्ट्रिय सम्मेलन, कला र सांस्कृतिक कार्यक्रममा केन्द्रित वेलनेस टुरिज्म हबका रूपमा विकास गरिनेछ।

स्थानीय समुदाय र संस्कृति प्रवर्द्धनमा जोड

परियोजनाले स्थानीय संस्कृति, हस्तकला, खानपान र परम्परागत वास्तुकलालाई संरक्षण गर्दै समुदायमै रोजगारी सिर्जना गर्ने बताइएको छ। आयोजकका अनुसार यो परियोजना नेपाली पहिचानको अन्तर्राष्ट्रिय प्रतिनिधित्व गर्न सक्ने विशेष गन्तव्य बन्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको