Like us!
Follow us!
Connect us!
Watch us!

वार्षिकोत्सवमा मनकामना केवुलकारको नयाँ उपहार: विश्वस्तरीय रिसोर्ट निर्माण अन्तिम चरणमा

अर्थ संसार

शनिबार, ०८ मंसिर २०८१, २१ : १५ मा प्रकाशित

वार्षिकोत्सवमा मनकामना केवुलकारको नयाँ उपहार: विश्वस्तरीय रिसोर्ट निर्माण अन्तिम चरणमा

नेपालकै पहिलो केवुलकार सेवा मनकामना केवुलकार २६औं वर्ष पूरा गरी २७औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा केवुलकार व्यवस्थापनले आगामी दिनमा अझ स्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ। यस अवसरमा केवुलकारका स्रष्टा स्व. लक्ष्मण बाबु श्रेष्ठ लाई श्रद्धापूर्वक सम्झना गर्दै उनको साहसिक एवं ऐतिहासिक योगदानको उच्च प्रशंसा गरिएको छ। केवुलकारको सुरुवातले प्रसिद्ध तीर्थस्थल मनकामनालाई मात्र नभई वरिपरिका क्षेत्रलाई समेत भारत तथा अन्य मुलुकका पर्यटकहरूका लागि प्रमुख गन्तव्यका रूपमा स्थापित गराएको छ।

ब्लबयिनगभ प्रविधिमा आधारित यो केवुलकारलाई हालकै नवीनतम प्रविधिमा स्तरोन्नति गरिसकिएको छ। व्यवस्थापनका अनुसार, केवुलकार मर्मत सम्भार तथा स्पेयर पार्टस् उपलब्धताका चुनौतीलाई ध्यानमा राख्दै स्तरोन्नतिको यो कदम चालिएको हो।

मनकामना केवुलकार हाताभित्र निर्माणाधीन सुविधा सम्पन्न रिसोर्टको काम अन्तिम चरणमा पुगेको छ। यो रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा-सेमिनार हल र रेष्टुरेन्टजस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध हुनेछन्। यसले धार्मिक पर्यटनलाई थप आकर्षक बनाउँदै मनकामनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गन्तव्य बनाउने लक्ष्य राखिएको छ।

शुरुवाती वर्षमा १० लाख यात्रुलाई सेवा दिएको केवुलकारले हाल वार्षिक १२ लाख यात्रुहरूलाई सेवा प्रदान गरिरहेको छ। यो वर्ष १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको छ।

केवुलकार व्यवस्थापनले सामाजिक व्यवसायिक उत्तरदायी (CSR) नीतिअन्तर्गत मनकामना र आसपासका क्षेत्रमा विकास, शिक्षा, स्वास्थ्य र विपन्न वर्गका लागि सहयोग गर्दै आएको छ। विशेष गरी, शहीद लखन गाउँपालिका (गोरखा) र इच्छाकामना गाउँपालिका (चितवन) का लागि केवुलकार टिकट आम्दानीको २ प्रतिशत हिस्सा विभिन्न क्षेत्रीय विकास तथा दैवी प्रकोप व्यवस्थापनका लागि उपलब्ध गराउँदै आएको छ।

यस संस्थालाई यहाँसम्म ल्याउन योगदान पुर्‍याउने सबै यात्रुहरू, स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी निकायहरू तथा प्रत्यक्ष अप्रत्यक्ष सहयोगीहरूलाई कम्पनीले हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गरेको छ। साथै, विगतदेखि कम्पनीका समाचार सम्प्रेषणमा सहयोग पुर्‍याउँदै आएका पत्रकार मित्रहरूलाई समेत विशेष आभार व्यक्त गरिएको छ।

मनकामना केवुलकार व्यवस्थापनले स्रष्टा स्व. लक्ष्मण बाबु श्रेष्ठको मार्गदर्शनअनुरूप सेवा प्रवाह गर्दै जाने अठोट व्यक्त गर्दै, माता मनकामनाले सबैको कल्याण गरून् भन्ने शुभकामना व्यक्त गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको