Like us!
Follow us!
Connect us!
Watch us!

बालेनलाई एमाले नेता पोखरेलको चुनौती: दल खोलेर हामीसँग प्रतिस्पर्धामा आए हुन्छ

अर्थ संसार

बुधबार, १९ भदौ २०८१, १८ : ०२ मा प्रकाशित

बालेनलाई एमाले नेता पोखरेलको चुनौती: दल खोलेर हामीसँग प्रतिस्पर्धामा आए हुन्छ

नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले अहिले जबरजस्ती रुपमा केपी शर्मा ओलीलाई अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारको भाष्यबाट सचेत हुनुपर्ने बताएका हुन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलाई लक्षित गर्दै उनले भने, ‘अहिले केपी ओली अनपपुलर भन्ने भाष्य जबरजस्त निर्माण गर्न खोजिँदैछ । हामी त्यस्तो चाहँदैनौं । लोकतन्त्रमा सबै फूल फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने हो ।’

नेता पोखरेलले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने बताए । उनले एउटा दलको विकल्प अर्को दल हुने बताए । उनले काठमाडौं महानगरपालिका प्रमुख शाहलाई स्वघोषित पपुलरको संज्ञा दिँदै दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न चुनौती दिए ।

‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । एउटा दलको विकल्प अर्को दल हुनसक्ला । अरु साथीहरू आफूलाई स्वघोषित पपुलर भन्नुभएको छ, उहाँहरूले पनि गरे हुन्छ । दल खोलेर हामीसँग प्रतिस्पर्धामा आए हुन्छ ’, उनले भने, ‘त्यो प्रतिस्पर्धामा जनताबाट अब्बल सावित भए हुन्छ । आवधिक निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दरता हो, हामी तयार छौं ।’

प्रधानमन्त्री ओलीले बालेनलाई सहयोग नै गर्न चाहेको बताए । बालेन भने ओलीविरुद्ध लगातार नकारात्मक रुपमा प्रस्तुत भइरहेको उनको भनाइ छ ।

एमालेका कुनै पनि नेता, सांसदले अपराध गरे उनीहरूलाई दण्डित गर्न कसैले नरोक्नि उनले बताए । ‘ओली र बालेनबीचमा कुनै त्यस्तो म देख्दिनँ । ओलीले उहाँलाई जहिले पनि हामी उहाँलाई सहयोग गर्छौं भन्ने हिसाबबाटै कुरा राख्नुभएको छ । तर, बालेनजी लगातार नेगेटिभ ढंगबाट प्रस्तुत हुनुभएको छ । प्रदेश सांसद रेखाजीको कुरा छ । उजुरी परेर प्रहरीले पक्राउ गर्ने प्रक्रिया किन थालेन ? एमालेले कहाँ बाधा गर्छ ?’ उनले प्रश्न गरे ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको