Like us!
Follow us!
Connect us!
Watch us!

हवाई टिकटमा बढी मूल्य लिने गरिएको छ की भनेर हामीले निगरानी राखि नै रहेका छौ:पर्यटनमन्त्री पाण्डे

अर्थ संसार

आइतबार, २० असोज २०८१, १२ : ५५ मा प्रकाशित

हवाई टिकटमा बढी मूल्य लिने गरिएको छ की भनेर हामीले निगरानी राखि नै रहेका छौ:पर्यटनमन्त्री पाण्डे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

उनले पछिल्लो मनसुनजन्य विपद्का कारण सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको माग बढिरहेको भन्दै हवाई उडानलाई थप व्यवस्थित र सहज बनाउने काम भइरहेको बताएका हुन ।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै मन्त्री पाण्डेले सडक सञ्जाल पनि अहिले खुलाउने प्रयास भइरहेको र हवाई उडानलाई पनि बिहानदेखि रात्रीकालीन समयसम्म सञ्चालन गरिरहेकाले केही सहज वातावरण बन्दै गएको उल्लेख गरे । उनले चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या बढी हुने भएकाले विमानको टिकट महंगो हुने गरेको बताए ।

मन्त्री पाण्डेले यात्रुहरु शहरबाट गाउँतर्फ जाने बढी हुने भएकाले गाउँबाट रित्तो जहाज फर्किनुपर्ने बाध्यताका कारण पनि केही रकम महंगो भएको बताए । सरकारले महंगो हुन नदिनका लागि अनुगमन र नियमन गरिरहेको पनि बताए ।यस पटक धेरै टिकटहरु पहिला नै विक्री भइसकेको र विपत्ति आइसकेपछि हवाई मार्गको यात्रा रोज्दा टिकटको चाप बढेको बताए । उनले त्यसका लागि बिहान साढे ४ बजेदेखि राति उडान गर्नसक्ने समयसम्म उडान गरिरहेको मन्त्री पाण्डेले बताए ।

त्यसका लागि नेपाल एयरलाइन्स र निजी एयरलाइन्सहरुसँग धेरै भन्दा धेरै उडान गर्न आग्रह गरेको पनि बताए । रात्रीकालीन सेवामा अवतरणपछि गन्तव्यस्थलमा पुग्नका लागि पनि विमानस्थल क्षेत्रका यातायात व्यवसायीहरुसँग समन्वय गरे बढी भाडा नलिकनै यात्रुहरुलाई घरसम्म पुग्ने वातावरण सिर्जना गर्न आग्रह गरिएको बताए । यात्रा सहज बनाइ यात्रुलाई सुविधा दिनका लागि थप प्रभावकारी ढंगले काम गरिरहेको बताए ।

मन्त्री पाण्डेले भने, ‘११ र १२ गते जुन भीाषण वर्षा भयो, त्यसपछि एक प्रकारको ठूला विपत्ति व्यहोर्नुपर्यो । त्यसकारण सडक सञ्जालहरु अवरुद्ध भए । केही सडक खण्डहरु अझै पनि खुल्न सकेको अवस्था छैन । त्यो अवस्थामा हवाई क्षेत्रमा स्वभाविक रुपमा चाप बढ्यो । चाडपर्वको बेलामा काठमाडौं उपत्यकाबाट बाहिर जानेहरुको संख्या बढी हुने गर्दछ । जसले गर्दा प्लेनको टिकटहरु प्राप्त गर्न पनि कठिन हुने र टिकटको मूल्य पनि बढ्ने । किनभने एकतर्फी राम्रोसँग चल्ने र अर्कोतर्फी फुल प्यासेन्जर हुँदैनन्, खालि आइरहेका छौँ भनेर एयरलाइन्सहरुले आफ्नो गुनासो सुनाउने अवस्था छ । यस पटक विपत्ति र चाडवाड दुवै सँगै आएको हुनाले समस्या भएको हामीले महशुस गरेका छौँ । हवाई टिकटमा बढी मूल्य लिने गरिएको छ की भनेर हामीले निगरानी राखि नै रहेका छौँ । अनुगमन भइरहेको छ । तर यस पटक धेरै टिकटहरु पहिला नै विक्री भइसकेको, विपत्ति आइसकेपछि टिकट खोज्दा दशैँ र विपत्ति दुवैले गर्दा टिकटको चाप देखियो । बिहान साढे ४ बजेदेखि राति जति बजेसम्म उडाउन सकिने हो, जुनजुन एयरपोर्टमा रात्रिकालीन सेवा दिन सकिन्छ, त्यसमा रात्रिकालीन सेवा दिनेगरी हामीले निर्णय गरेका छाैं। जसले गर्दा इतिहासमै यति धेरै फ्लाइट र यात्रुहरुको आवतजावत भएको थिएन, त्यो स्थिति निर्माण गर्याै। रात्रिकालीन उडानपछि गन्तव्यसम्म पुग्नको लागि हामीले विमानस्थल स्थित यातायात व्यवसायीहरुसँग छुट्टै छलफल गर्यौँ । उहाँहरुलाई काम पनि बढी पाउनुभएको छ रात्रीकालीन सेवा भएपछि, त्यसकारण थप बढी मूल्य नलिन आग्रह गरेका छौँ । तोकिएको रेट भन्दा बाहिर जाँदैनाैँ भनेका छन् । तोकिएको रेट तिरेर र बिल काटेर जानेकुरा पारदर्शी हुन्छ भन्नेमा सहमत हुनुभयो । सामाजिक उत्तरदायित्वलाई नबिर्सिने वचनवद्धता दिनुभयो । यात्रा र यात्रुलाई सहजता दिनका लागि थप प्रभावकारी काम गरिरहेका छौँ । फ्लाइटको संख्या बढेपछि स्वभाविक रुपमा टिकटमा बिस्तारै सहजता हुँदै गएको छ । फ्लाइट बढाइदिन आग्रह गर्नुभएको छ । नेपाल एयरलाइन्स र निजी एयरलाइन्ससँग समन्वय गरेर सकेसम्म बढी फ्लाइट गरिदिन आग्रह गरेका छौँ । बिस्तारै सहज हुँदै गएको छ र थप सहज हुनेछ ।’

मन्त्री पाण्डेले फ्लाइटको संख्या बढेपछि स्वभाविक रुपमा टिकटमा बिस्तारै सहजता हुँदै गएको बताए । यात्रुको चापअनुसार उडान बढाइदिन पनि एयरलाइन्सहरुसँग आग्रह गरेको बताए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको