उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुुलुकको राजनीतिक स्थायित्वका निम्ति नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको सहकार्यमा गठन भएको वर्तमान सरकारले देश विकासलाई केन्द्रमा राखेर काम गरिरहेकाले त्यसमा सघाउन प्रवासी नेपालीलाई अनुरोध गरेका छन् ।
विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिने सिलसिलामा यहाँ रहेका मन्त्री पौडेलले यहाँस्थित नेपाली राजदूतावासले प्रवासी नेपालीसँग आयोजना गरेको छलफलमा मातृभूमिको विकासका निम्ति लगानीका माध्यमबाट सघाउन आग्रह गरेका हुन् ।
उनले भने ,'वर्तमान सरकारको उद्देश्य जनचाहनाअनुसार विकास गर्दै समृद्धिको मार्गमा अघि बढ्नु हो, त्यहीअनुरुप काम गरिरहेका छौँ,' उनले भने । उनले ऊर्जा, पर्यटन, सूचना प्रविधिलगायत क्षेत्रमा लगानीका पर्याप्त अवसर भएकाले यहाँ आर्जन गरेको सीप, पुँजी र ज्ञानलाई नेपालमा उपयोग गर्न सुझाए ।
साथै उनले लगानीकर्तालाई सरकारले प्राथमिकताका साथ सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्री पौडेलले सहभागीका जिज्ञासाको जवाफ दिँदै नेपालमा लगानीको वातावरण र प्रतिफल प्राप्तिको सुनिश्चितता भएकाले ढुक्क भएर लगानी गर्न आह्वानसमेत गरे । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक तथा सामाजिक विकासका लागि अधिक पुँजी आवश्यक परेकाले गैरआवासीय नेपालीको सहयोग आवश्यक भएको बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस