Like us!
Follow us!
Connect us!
Watch us!

निर्मला पन्तको हत्यारा को हो ? आजसम्म पत्ता लागेनः स्वास्थ्यमन्त्री

अर्थ संसार

विहीबार, २९ कार्तिक २०८१, १७ : ४७ मा प्रकाशित

निर्मला पन्तको हत्यारा को हो ? आजसम्म पत्ता लागेनः स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्मला पन्तको हत्याका अपराधी अझै पत्ता नलागेकोमा दुःख व्यक्त गर्दै सरकारको असफलताप्रति असन्तोष प्रकट गरेका छन्।

काठमाडौंमा बिहीबार आयोजित एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) को प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको दोषी अझै पक्राउ नपर्नु दुखद पक्ष रहेको बताए।

उनले निर्मला पन्तको हत्यारालाई कानुनी कठघरामा ल्याउन नसकिएकोमा निराशा जनाउँदै महिलामाथि बढ्दो हिंसात्मक घटनाप्रति गम्भीर ध्यान दिनुपर्ने आवश्यकता औंल्याए। साथै, उनले एसिड पीडितहरुको उपचारमा देखिएको समस्या र दाइजो नपाउँदा हुने घटनाका बारेमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे। उनले इमर्जेन्सी सेवामा बिना भेदभाव सबैलाई सेवा दिने संस्कृति स्थापना गर्नुपर्नेमा जोड दिए। 

उनले भने, ‘ उपचारात्मक पक्षबाट भन्दा हामीले यसमा सैद्धान्तिक पाटोमा केही काम गरेका छौँ । तर हामीले गरेको निर्णयलाई व्यवहारिक ढंगबाट पूर्णरुपमा कार्यान्वयन गर्न सकेका छैनौँ । त्यो मात्रै विषयले अब पुग्दैन । अरु विषय त्यहाँ जोडिएका छन् । सबैकुरा भइसकेको छ तर भएको महशुस हुन किन सकेको छैन । कहाँनेर समस्या छ । भएको महशुस हुन यस कारणले सकेन कि, निर्मला पन्तको हत्यारा, बलात्कारी को हो, आजसम्म पत्तै लागेन । मलाई धन्यवाद दिन जलन पीडितहरु आउनुभएको थियो । बुहारीले छोरी जन्माइ भनेर उनको अनुहारमा एसिड छरिएछ । अहिले घरसँँग सम्बन्ध छैन, उहाँले कसरी उपचार गर्नुभयो, अहिले सामान्य सिलाइबुनाइको कार्यक्रम गरेर जीवन गुजारिरहनुभएको छ । दाइजो नपाएर त्यस्ता घटना थुप्रै भएका छन् । बलात्कारको घटना त एकदमै धेरै भइरहेको जस्तो देखिन्छ । महिला अधिकारको सम्बन्धमा नेपाल यस्तो देश हो, जुन देशमा पाल्र्यामेण्ट समावेशी छ । सबै पक्षमा समावेशी व्यवस्था सुनिश्चित गर्ने बाध्यकारी व्यवस्था बनाइएको छ । तर यसको बाबजुत पनि महशुस किन गर्न सकेका छैनौँ । इमर्जेन्सी सेवा त सबैलाई निःशुल्क हुनुपर्ने हो तर इमर्जेन्सीमा छिर्दा त... म स्वास्थ्यमन्त्री हुँ यो भन्न हुने हो की होइन थाहा छैन । इमर्जेन्सीमा छिर्दा टिकट काटेर आउ । टिकट काट्ने पैसा छैन भने जाउ । पैसा भएको मात्रैको उपचार गर्ने हो की उपचार गर्न आवश्यक भएकाको उपचार गर्ने हो । अनि त्यसपछि पैसा छ वा छैन भनेर सोध्ने हो ? यत्रा मन्त्रालय छन्, हामी यति धेरै छौँ । हामीले गर्न नसकेको की नचाहेको हो ? हामीलाई प्रश्न उठ्नसक्छ ।’

 


मन्त्री पौडेलले सबैले व्यवस्थित ढंगबाट काम गर्नुपर्ने बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको