सिमेन्ट उत्पादकले हालै सिमेन्टको मूल्य बढाएपछि निर्माण व्यवसायीहरू असन्तुष्ट भएका छन्। निर्माण सिजनमै मूल्य प्रतिथोखा २०० रुपैयाँले बढेपछि व्यवसायीहरूले मूल्य वृद्धिमा ‘कार्टेलिङ’ भएको आरोप लगाएका छन्। उनीहरूले उद्योग मन्त्रालय र सम्बन्धित विभागमा यसबारे उजुरी समेत दर्ता गराएका थिए।
निर्माण व्यवसायी र सिमेन्ट उत्पादकबीच वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार छलफलको आयोजना गरेको थियो। सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसाय संकटमा परिरहेको बेला मूल्य वृद्धिले थप चुनौती थपेको बताए। सरकारबाट भुक्तानी नपाएको अवस्थामा सिमेन्टको मूल्य वृद्धिले निर्माण व्यवसायीहरूमा आर्थिक भार बढेको उनको भनाइ थियो।
सिमेन्टको मूल्य वृद्धिबारे छानबिन गर्न विभागले उत्पादक व्यवसायीहरूलाई कारणसहितको मूल्यसूची प्रस्तुत गर्न निर्देशन दिएको छ। विभागका महानिर्देशक राजन पौडेलका अनुसार उजुरीको चाप बढेपछि मन्त्रालयले छलफलको माध्यमबाट समस्या समाधान गर्ने प्रयास गरिरहेको छ।
सिमेन्ट उत्पादकले सरकारी सिमेन्ट उद्योग, जस्तै उदयपुर सिमेन्ट र हेटौँडा सिमेन्टको तुलनामा निजी क्षेत्रका सिमेन्ट सस्ता भएको दाबी गरेका छन्। विभागले मूल्य वृद्धिका कारणबारे स्पष्ट जानकारी माग गरेको छ भने निर्माण व्यवसायीले समाधानको प्रतीक्षा गरिरहेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस