उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि नेपालले तयारी गरेका कार्ययोजनाको कार्यान्वयनमा महत्वपूर्ण प्रगति गरेको बताएका छन्।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रका लागि विकासमा वित्तीय सहयोगका बारेमा उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले सीमित स्रोतका बाबजुत पनि सामूहिक प्रयासले विश्वव्यापी दिगो विकास लक्ष्य प्राप्तिमा अदिस अबाबा एजेन्डा कार्यान्वयनमा नेपालले ठूलो प्रगति गरेको बताए।
अल्पविकसित र विकासोन्मुख देशहरूको वित्तीय अन्तरदृष्टिका बारेमा विचार व्यक्त गर्दै अर्थमन्त्री पौडेलले, "अहिलेका मुख्य चुनौतीहरूमा बजेट योजना, स्रोतको कुशलतापूर्वक वितरण, प्रभावकारी परियोजना कार्यान्वयन क्षमता र दिगो खर्च व्यवस्थापन रहेको छ," भने।
राजस्व परिचालन क्षमता सुधार गर्ने दृषटिकोनमा उनले भने, "अधिकांश अल्पविकसित देशहरूले राजस्व परिचालन क्षमतामा सुधार गर्न संघर्ष गरिरहेका छन्, जसका कारण डिजिटल अर्थतन्त्रका नयाँ मोडालिटीहरूलाई करको दायरामा ल्याउने कार्य आवश्यक रहेको छ।"
अर्थमन्त्री पौडेलले डिजिटल कर प्रशासन सुदृढ बनाउन र राजस्व सुधारका लागि निश्चित लक्ष्यसहितको स्पष्ट रणनीतिका आवश्यकता रहेको पनि बताएका छन्। साथै, उनले वर्तमान विश्वव्यापी आर्थिक अनिश्चितता, भूराजनीतिक समस्याहरू, सार्वजनिक ऋणको बढ्दो भार र आर्थिक असमानतासमेत सामूहिक प्रयासबाट समाधान गर्न आवश्यक रहेको बताएका छन्।
उनले अर्थतन्त्रमा निजी क्षेत्रको लगानीलाई प्रोत्साहन गर्न महत्त्वपूर्ण रहेकोमा जोड दिँदै यसबाट समृद्धिको मार्ग खुल्ने बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस