जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित मुद्दा (अभियोगपत्र) आज (शुक्रबार) अदालतमा दर्ता गर्ने तयारी गरेको छ ।
कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा गर्न लागेको हो । यसअघि आठौं पटक अदालतले रवि लगायतलाई थप गरेको म्याद आज सकिँदै छ ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोपमा लामिछानेमाथि अनुसन्धान भएको हो ।
गोर्खा मिडियामा लामिछानेको सेयरका साथै उनी प्रबन्ध निर्देशक थिए । यो मुद्दामा गोर्खा मिडियाका तत्कालीन संचालक तथा पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई, रामप्रसाद खनाल र कृष्ण गुरुङविरुद्ध पनि मुद्दा दर्ता गर्न लागिएको छ। सरकारी वकिलको कार्यालयले शुक्रबार नै मुद्दा दर्ता गर्नुपर्ने कानुनी बाध्यता रहेको छ ।
सहकारी ठगीको अनुसन्धान गर्न २५ दिन, संगठित अपराधमा ६० दिन, र सम्पत्ति शुद्धीकरण ऐनमा ९० दिनको कानुनी हदम्याद हुन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस