Like us!
Follow us!
Connect us!
Watch us!

अघि बढाईदै नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रकृया - पुराना तीनमध्ये एउटाले लाइसेन्स पाउने

अर्थ संसार

सोमबार, १४ माघ २०८१, १२ : ३४ मा प्रकाशित

अघि बढाईदै नयाँ स्टक एक्सचेन्जलाई लाइसेन्स दिने प्रकृया - पुराना तीनमध्ये एउटाले लाइसेन्स पाउने

नयाँ स्टक एक्स्चेन्जका लागि नेपाल धितोपत्र बोर्डले नयाँ आवेदन नखुलाउने भएको छ।

यसअघि आवेदन दिएका कम्पनी हिमालयन स्टक एक्स्चेन्ज, नेसनल स्टक एक्स्चेन्ज र अन्नपूर्ण स्टक एक्स्चेन्ज मध्ये एउटालाई लाइसेन्स दिने तयारी बोर्डले गरेको छ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को पुनर्संरचना गर्ने र नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया अगाडि बढाउने मन्त्रिपरिषद्को ५ पुसको निर्णय अर्थ मन्त्रालय हुँदै धितोत्रप बोर्ड पुगेपछि यसको प्रक्रिया अगाडि बढेको हो ।

वैशाख २०८० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया तत्काललाई रोक्ने निर्णय गरेको थियो ।

नयाँ स्टक एक्स्चेन्जका लागि प्राप्त निवेदन र विस्तृत कार्यायोजना मूल्यांकन गर्न यसअघि नै एक समिति गठन भएको छ । यसअघि धितोपत्र बोर्डमा अर्थ मन्त्रालय, कानुन मन्त्रालय र नेपाल राष्ट्र बैंकलाई प्रतिनिधित्व गर्ने गरी तीन जना सञ्चालकहरू सदस्य रहेको समितिले मूल्या‌ंकन नसक्दै मन्त्रिपरिषद्ले प्रक्रिया नै रोक्ने निर्णय गरेको थियो । 

संसदको अर्थ समितिले पनि २९ जेठ २०८० मा स्टक एक्स्चेन्जको लाइसेन्स प्रक्रिया समितिबाट विस्तृत अध्ययन पूरा नहुँदासम्म रोक्न अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई निर्देशन दियो । 

त्यसको पाँच महिनापछि २४ कात्तिकमा समितिले लाइसेन्स प्रक्रिया अघि बढाउन बाटो खोलिदिएको थियो । त्यसपछि बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालले पुनः मूल्यांकन समिति गठन गरी लाइसेन्स प्रक्रिया अघि बढाउन प्रयास गरेकोमा मन्त्रिपरिषद्को यसअघिको निर्णय परिवर्तन नभएकाले अघि बढ्न सकेको थिएन ।

आवेदन दिएको हिमालयन स्टक एक्स्चेन्जमा उद्योगी शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा, उद्योगी पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, सतिशलाल मोर, विवेक दुगड, सौरभ ज्योति लगायतको लगानी छ । यसमा रोहित गुप्ता, आशिष श्रेष्ठ, जुनी गुरुङ र दीपक भट्टको पनि लगानी छ । नेसनल स्टक एक्स्चेन्जमा गैरआवासीय नेपाली उपेन्द्र महतो, जिवा लामिछाने, कुल आचार्य, बद्री केसी तथा उद्योगी मनोज केडिया लगायतको लगानी छ । अन्नपूर्ण स्टक एक्स्चेन्जमा गणेशकुमार श्रेष्ठ, सुरेन्द्रराज वाग्ले, मुक्तिबोध न्यौपाने, अनिल सापकोटा, प्रकाशकुमार श्रेष्ठ, शेखर सुवेदी, बलराम उप्रेतीलाई सञ्चालकका रूपमा प्रस्ताव गरिएको छ ।

नयाँ स्टक एक्स्चेन्ज सञ्चालनका लागि धितोपत्र बोर्डले आवेदन माग्दा यी तीन कम्पनीको आवेदन परेको थियो । आवेदन परेपछि लाइसेन्सका लागि ‘चलखेल’ भएको भन्दै सर्वोच्च अदालतमा प्रक्रिया रोक्न माग गर्दै मुद्दा परेको थियो । यद्यपि, अदालतले लाइसेन्स प्रक्रिया रोक्नु नपर्ने भन्दै बाटो खुला गरिदिएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको