Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरूको निक्षेप ६० खर्ब नजिक: शीर्षस्थानमा ग्लोबल र नबिल,अन्य कुन बैंकसँग कति ?

अर्थ संसार

आइतबार, १८ फागुन २०८१, १४ : १३ मा प्रकाशित

वाणिज्य बैंकहरूको निक्षेप ६० खर्ब नजिक: शीर्षस्थानमा ग्लोबल र नबिल,अन्य कुन बैंकसँग कति ?

वाणिज्य बैंकहरुको निक्षेप संकलन ६० खर्ब नजिक पुगेको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म २० वाणिज्य बैंकहरुले ५९ खर्ब ९७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका हुन् ।

नेपाल बैंकर्स संघ (एनबीए) का अनुसार माघ मसान्तसम्म वाणिज्य बैंकहरुले ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । 

ग्लोबल र नबिल​ शीर्षस्थानमा 

वाणिज्य बैंकहरुमध्ये निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक र नबिल बैंक शीर्षस्थानमा देखिएका छन् । यो अवधिमा बैंकहरुले क्रमशः ५ खर्ब २९ अर्ब रुपैयाँ र ४ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।  

अन्य कुन बैंकको निक्षेप संकलन कति ?

यो अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले ४ खर्ब ४७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४४ अर्ब रुपैयाँ संकलन गरेको छ । कुमारी बैंकले ३ खर्ब ६१ अर्ब रुपैयाँ, लक्ष्मी सनराइज बैंकले ३ खर्ब ४७ अर्ब रुपैयाँ, नेपाल बैंकले ३ खर्ब ४ अर्ब रुपैयाँ र हिमालयन बैंकले ३ खर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यस्तै,एभरेष्ट बैंक २ खर्ब ६१ अर्ब निक्षेप संकलन गर्दा एनएमबी बैंकले पनि सोही बराबर संकलन गरेको छ । यस अवधिमा कृषि विकास बैंकको २ खर्ब ५६ अर्ब रुपैयाँ, प्राइम कमर्सियल बैंकको २ खर्ब ३८ अर्ब रुपैयाँ, सानिमा बैंकको २ खर्ब १३ अर्ब रुपैयाँ र सिटिजन्स बैंकले २ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।माछापुच्छ्रे बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा नेपाल एसबीआई बैंकले १ खर्ब ८२ अर्ब रुपैयाँ गरेको छ । यस्तै, स्टान्डर्ड चार्टर्ड बैंकले १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ ।

तीन बैंकको निक्षेप संकलन घट्यो 

गत आर्थिक वर्षको असार मसान्तको तुलनामा तीन बैंकको निक्षेप संकलन भने घटेको छ । एनआइसी, सिद्धार्थ र प्रभु बैंकको निक्षेप संकलन घटेको हो । चालू आर्थिक वर्षको माघ मसान्तसम्म एनआइसी एशिया बैंकले ३ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । तर, यो निक्षेप गत आवको असार मसान्तसम्मको तुलनामा ५८.२२ प्रतिशत कम हो । उक्त अवधिमा यस बैंकले ३ खर्ब ६० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।

गत आवको असार मसान्तसम्म ३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप सकंलन गरेको प्रभु बैंकले चालू आवको माघ मसान्तसम्म आइपुग्दा ३ खर्ब ९ अर्ब रुपैयाँ मात्रै निक्षेप संकलन गरेको छ। यस अवधिमा बैंकको निक्षेप संकलन ३.०७ प्रतिशत घटेको देखिन्छ । त्यस्तै, सिद्धार्थ बैंकको निक्षेप संकलन १.६० प्रतिशतले घटेको छ । चालू आवको माघसम्म यस बैंकले २ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप सकंलन गरेको छ । यस्तो निक्षेप गत आवको असार मसान्तसम्म २ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो ।

कर्जा प्रवाह: तीनको घट्दा १७ को बढ्यो 

माघ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ४८ खर्ब २७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमा तीन वटा बैंकको घट्दा १७ बैंकको कर्जा प्रवाह भने बढेको छ । 

एनआईसी एशिया बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकको कर्जा प्रवाह घटेको छ । अन्य १७ बैंकहरुको कर्जा प्रवाह भने बढेको छ । निक्षेप संकलन गर्नेमा पनि अब्बल देखिएको ग्लोबल आइएमई बैंक कर्जा प्रवाहमा पनि अग्र स्थानमै रहेको छ । माघ मसान्तसम्म ग्लोबल आइएमई बैंकले ४ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

कुन बैंकको सीडी रेसियो कति ? 

हाल बैंकहरुको सीडी रेसियो ६४ प्रतिशतसम्म आइपुगेको छ ।

हाल सबैभन्दा कम सीडी रेसियो राष्ट्रिय वाणिज्य बैंकको ६३.९६ प्रतिशत छ ।  ग्लोबल आइएमई बैंकको सीडी रेसियो ७८.७७ प्रतिशत छ । यता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सीडी रेसियो ७३.६९ प्रतिशत छ ।

 स्ट्याण्डर्ड चार्टर्ड बैंकको ६८ प्रतिशत छ,नेपाल बैंकको ७३.६९ प्रतिशत, नेपाल एसबिआई बैंकको ७५.४९ प्रतिशत, प्रभु बैंकको ७५.८४ प्रतिशत, कृषि विकास बैंकको ७५.४३ प्रतिशत,लक्ष्मी सनराइजको ८०.८० प्रतिशत, सानिमा बैंकको ८०.९२ प्रतिशत, कुमारी बैंकको ८१.८० प्रतिशत, नबिलको ८२.४४ प्रतिशत, हिमालयन बैंकको ८२.७० प्रतिशत, एनआईसी एसिया बैंकको ८३.०७ प्रतिशत, एभरेष्ट बैंकको ८३.५१ प्रतिशत, माछापुच्छ्रेको ८३.६० प्रतिशत, र एनएमबि बैंकको ८३.६२ प्रतिशत छ । सिटिजन्स बैंकको ८४.०१ प्रतिशत,सिद्धार्थ बैंकको ८५.०२ प्रतिशत सीडी रेसियो हुँदा प्राइम कमर्सियलको ८५.७७ प्रतिशत सीडी रेसियो रहेको  छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको