नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालका अनुसार नेप्सेको सीईओका लागि आइतबार अन्तिमदिनसम्म १० जनाले आवेदन दिएका हुन् ।
पहिलोपटक आवेदन माग गर्दा १ जनाको मात्रै परेपछि सिफारिस समितिले दोस्रोपटक आवेदन मागेको थियो । थपिएको समयसिमा भित्रमा १० जनाको आवेदन परेको हो ।
सीईओ पदका लागि आवेदन दिने उम्मेदवारहरूमा पूर्ण प्रसाद आचार्य ,बद्रि प्रसाद प्याकुरेल,नारद कुमार लुइटेल, युवराज दाहाल, प्रविण अधिकारी,चुडामणी चापागाई , बिमल कुमार तिवारी , कृष्ण बहादुर कार्की , हेमन्त बश्याल र मुकन्द राज जोशी रहेका छन्।
सीईओ पदका लागि उम्मेदवार बन्न धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १६ (क) अनुसार आवेदकले अर्थशास्त्र, वाणिज्यशास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि, वाणिज्य वा कानूनमा स्नातकोत्तर उपाधि वा चार्टर्ड एकाउण्टेन्सी उपाधि हासिल गर्नुपर्ने हुन्छ। साथै, पूँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी उच्च व्यवस्थापकीय तहमा कम्तीमा सात वर्षसहित १५ वर्षको कार्यानुभव आवश्यक पर्दछ।
उम्मेदवार नेपालको नागरिक हुनुपर्ने र धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ को नियम १७ बमोजिम अयोग्य व्यक्ति हुनु नहुने प्रावधान छ। उम्मेदवारको उमेर कम्तीमा ३० वर्ष र अधिकतम ६५ वर्ष हुनुपर्नेछ। साथै, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागू औषध कारोबार, पुरातात्त्विक सम्पत्ति वा संरक्षित वन्यजन्तु सम्बन्धी फौजदारी अभियोगमा दोषी ठहरिएका व्यक्ति, कालो सूचीमा रहेका वा विदेशी मुलुकबाट स्थायी आवासीय अनुमति लिएका व्यक्तिहरूले यो पदका लागि आवेदन दिन पाउँदैनन्।
सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले संयोजक सहसचिव सेवन्तक पोखरेललाई बनाएको छ भने सदस्यहरूमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल छन् । कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्स सीईओविहीन छ । कामु सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँलले सम्हाल्दै आएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस