नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आर्थिक वर्ष २०८१/८२ को सात महिनाको तथ्याङ्क सार्वजनिक गर्दै देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाबारे जानकारी दिएको छ। सार्वजनिक तथ्याङ्कअनुसार उपभोक्ता मुद्रास्फीति गत वर्षको तुलनामा केही घटेको छ भने थोक मुद्रास्फीति भने बढेको देखिएको छ।
राष्ट्र बैंकका अनुसार २०८१ माघ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१६ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ५.०१ प्रतिशत थियो। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९५ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७४ प्रतिशत रहेको छ।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको मूल्य १२.८० प्रतिशतले, दाल तथा गेडागुडीको ९.०६ प्रतिशतले, तरकारीको ७.५६ प्रतिशतले, र खाद्य तथा खाद्यजन्य वस्तुको मूल्य ६.३६ प्रतिशतले वृद्धि भएको छ। यद्यपि, मरमसला उपसमूहको मूल्य सूचकाङ्क भने २.९८ प्रतिशतले घटेको छ।
गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य १०.९१ प्रतिशतले, कपडाजन्य तथा जुत्ताचप्पलको ५.३६ प्रतिशतले, मदिराजन्य पेय पदार्थको ५.०८ प्रतिशतले, यातायात सेवाको ५.०१ प्रतिशतले, सुर्तीजन्य पदार्थको ४.१० प्रतिशतले र फर्निसिङ तथा घरायसी उपकरणको मूल्य ४.०७ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा अवधिमा ग्रामीण क्षेत्रमा वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७३ प्रतिशतले बढेको छ भने सहरी क्षेत्रमा ३.९६ प्रतिशतले बढेको छ। प्रदेशगत रुपमा कोशी प्रदेशमा ६.१५ प्रतिशत मुद्रास्फीति देखिएको छ, जुन अन्य प्रदेशको तुलनामा उच्च हो। मधेश प्रदेशमा ३.९१ प्रतिशत, बागमतीमा ३.३५ प्रतिशत, गण्डकीमा ३.४० प्रतिशत, लुम्बिनीमा ४.१६ प्रतिशत, कर्णालीमा ४.०५ प्रतिशत र सुदूरपश्चिममा ४.७१ प्रतिशत मुद्रास्फीति देखिएको छ।
काठमाडौं उपत्यकाको मुद्रास्फीति ३.५३ प्रतिशत, तराईको ४.२५ प्रतिशत, पहाडको ४.११ प्रतिशत र हिमाली क्षेत्रमा ५.२१ प्रतिशत रहेको छ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार २०८१ माघ महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति ३.४७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा २.८२ प्रतिशत मात्र थियो। उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ४.२७ प्रतिशत, ३.११ प्रतिशत र २.९० प्रतिशतले वृद्धि भएको देखिएको छ।
यद्यपि, निर्माण सामग्रीको थोक मुद्रास्फीति भने ०.७२ प्रतिशतले घटेको छ, जसले निर्माण क्षेत्रका व्यवसायीहरूलाई केही राहत दिन सक्ने आँकलन गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस