Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको पुँजी बजारमा सुधार: नेप्से परिसूचक र पूँजीकरणमा उल्लेख्य वृद्धि

अर्थ संसार

मंगलबार, २७ फागुन २०८१, ०६ : ५५ मा प्रकाशित

नेपालको पुँजी बजारमा सुधार: नेप्से परिसूचक र पूँजीकरणमा उल्लेख्य वृद्धि

नेपालको पुँजी बजारमा ठूलो सुधार देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ को सात महिनासम्ममा नेप्से परिसूचक २६८५.७३ विन्दुमा पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य वृद्धि हो।

बजार पूँजीकरणमा ठूलो उछाल
२०८० माघ मसान्तमा रु. ३३०२ अर्ब ८४ करोड रहेको धितोपत्र बजार पूँजीकरण २०८१ माघ मसान्तमा रु. ४४५८ अर्ब ५२ करोड पुगेको छ। यसले सेयर बजारप्रतिको लगानीकर्ताको आकर्षण बढेको संकेत गर्छ।

सूचीकृत कम्पनीहरूको संख्या घट्यो
नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २७१ बाट घटेर २६८ पुगेको छ। तीमध्ये १३० बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी, ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका कम्पनी छन्।

बैंक तथा वित्तीय संस्थाको प्रभुत्व
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूको धितोपत्र बजार पूँजीकरणमा ५३.३% हिस्सा रहेको छ। त्यस्तै, जलविद्युत्कम्पनीहरूको १६.७%, लगानी कम्पनीहरूको ७.६%, व्यापारिक संस्थाहरूको ५.४% र उत्पादन तथा प्रशोधन उद्योगहरूको ५.३% हिस्सा रहेको छ।

सात महिनामा १६ अर्ब ६६ करोड बराबरको नयाँ धितोपत्र सूचीकृत
आर्थिक वर्ष २०८१/८२ को सात महिनामा कुल १६ अर्ब ६६ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ। यसमा ७ अर्ब ४२ करोड बोनस सेयर, ३ अर्ब ९१ करोड हकप्रद सेयर, १ अर्ब २५ करोड म्युचुअल फन्ड, ७ करोड ५० लाख साधारण सेयर, ४ करोड ४५ लाख एफपीओ तथा अन्य ३ अर्ब ९६ करोड रुपैयाँ बराबरका धितोपत्र समावेश छन्।

धितोपत्र बोर्डबाट २१ अर्ब ६७ करोडको निष्काशन अनुमति
नेपाल धितोपत्र बोर्डले समीक्षा अवधिमा २१ अर्ब ६७ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशनका लागि अनुमति दिएको छ। यसमा १० अर्ब २० करोड म्युचुअल फन्ड, ९ अर्ब ३० करोड हकप्रद सेयर, १ अर्ब ३२ करोड डिबेन्चर, र ८५ करोड ५० लाख साधारण सेयर रहेका छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको