विश्व वित्तीय सप्ताह (Global Money Week) बालबालिका तथा युवाहरुमा वित्तीय शिक्षाको महत्वबारेमा जागरण ल्याउने उद्देश्यले वार्षिक रुपमा मनाउने अन्तर्राष्ट्रिय अभियान हो । यो सप्ताह हरेक बर्ष सन २०१२ देखि विश्वभर वित्तीय साक्षरता र वित्तीय शिक्षालाई प्रवर्द्धन गर्न आर्थिक सहयोग तथा विकास संगठन (Organization for economic cooperation and Development - OECD) अन्तर्गत वित्तीय शिक्षामा अन्तर्राष्ट्रिय संजाल ( International Network on Financial Education - INFE) को संयोजनमा मनाउने गरिन्छ । बाल तथा युवाहरुमा वित्तीय ज्ञान र सिपको अभिवृद्धिको साथै व्यवहारिकरुपमा सक्षम बनाउदै अन्ततोगत्वा उनिहरुमा विवेकशील वित्तीय निर्णय लिन अभिप्रेरित गर्ने उद्देश्यले यो विश्व वित्तीय सप्ताह ( GMW) मनाउने गरिन्छ । सन २०१२ देखि मनाउन सुरु गरिएको यो सप्ताह १३ औं शृङखलामा आईपुग्दा विश्वव्यापी वित्तीय चेतना मूलक अभियानको रुपमा हाल सम्म १७६ मुलुकमा ६ करोड भन्दा बढी बालबालिका र युवामाझ पुगि सकेको छ । ग्लोबल मनि विकको नेतृत्व गर्नको लागि प्रत्येक देशमा राष्ट्रिय संयोजकहरु ( National Coordinators) तोकिएको हुन्छ । जसको बिवरण Global Moneyweek.org मा समेत राखिएको छ । नेपालमा नेपाल राष्ट्र बैंक (NRB) को राष्ट्रिय संयोजनमा विभिन्न बाणिज्य बैकहरु, वित्तीय संस्था, बिमा कम्पनि, शैक्षिक संस्था, धितोपत्र तथा गैर सरकारी संस्थाहरुको सहकार्यमा यो कार्यक्रम मनाउदै आएको छ ।
वित्तीय साक्षरताले व्यक्तिको वित्तीय निर्णय क्षमता वृद्धि गराई वित्तीय साधनको उच्चतम प्रयोग र समग्र वित्तीय सेवाको माग बढाउछ । वित्तीय पहुँच र वित्तीय प्रयोगले वित्तीय समावेशिता बढाई अर्थतन्त्रलाई नै समावेशी बनाउदछ । वित्तीय साक्षरताको वास्तविक स्थितिको सम्बन्धमा आवश्यक तथ्याङ्क मनन गरी OECD / INFE Toolkit 2022 मा आधारित सर्वेक्षण विधि अवलम्बन गरी नेपाल राष्ट्र बैंकले पहिलो चोटी प्रदेशका साथै जिल्ला स्तरमा वित्तीय साक्षरताको अवस्था र वित्तीय समावेशिताको स्थिति सम्बन्धमा सर्वेक्षण गरिएको थियो ।
वित्तीय साक्षरताका तीनवटा आयामहरु रहेका हुन्छन : ज्ञान (Knowledge), व्यवहार (Behaviour) र मनोवृत्ति (Attitude) । तिनीहरुको संयक्त अवस्थाले वित्तीय साक्षरताको अवस्था बताउँछ । वित्तीय समावेशिताको अवस्था मापन गर्न भुक्तानी उपकरणको प्रयोग, बचत, लगानी वा अवकाश उपकरणको प्रयोग, बीमाको प्रयोग र कर्जाको प्रयोगलाई हेरिएको छ ।
नेपाल राष्ट्र बैंकको २०२२ को उक्त सर्वेक्षण अनुसार नेपालीहरुको समग्र राष्ट्रिय स्तरमा वित्तीय साक्षरता ५७. ९ प्रतिशत पाइएको छ । वित्तीय साक्षरताको तीन आयामको रुपमा रहेको वित्तीय ज्ञान ४७.३ प्रतिशत, वित्तीय व्यवहार ६३.५ प्रतिशत र वित्तीय मनोवृत्ति ६४.१ प्रतिशत रहेको पाइएको छ । वयस्क जनसंख्याको २७.५ प्रतिशतले मात्र वित्तीय साक्षरताका तिनै आयामहरूमा न्यूनतम अङ्क प्राप्त गरेका छन । वित्तीय ज्ञानमा २६.५ प्रतिशत वयस्क जनसंख्या, वित्तीय व्यवहारमा ५६.६ प्रतिशत र वित्तीय मनोवृत्तिमा ९५.४ प्रतिशत वयस्क मानिसहरुले न्यूनतम अङ्क प्राप्त गरेका छन । वित्तीय साक्षरतामा सबैभन्दा बढी अङ्ग वागमती प्रदेशको ६४.५ प्रतिशत पाइएको छ भने मधेस प्रदेशले सबैभन्दा कम ५२ प्रतिशत रहेको छ । वित्तीय साक्षरता अङ्गमा भिन्नता हुनुको प्रमुख कारक तत्व प्रदेशहरू बीचमा वित्तीय ज्ञानमा रहेको भिन्नता देखिन्छ । वित्तीय व्यवहारको र वित्तीय मनोवृत्तिको अङ्ग भने सबै प्रदेशहरूमा लगभग समान रहेको छ । पुरुषको वित्तीय साक्षरता अङ्क ६१.८ प्रतिशत पाइएको छ जुन महिलाको तुलनामा ७५ प्रतिशतले बढी हो । पुरुषको वित्तीय ज्ञानमा अङ्क ५६.५ प्रतिशत रहेको छ जुन महिलाको तुलनामा १७९ प्रतिशतले बढी छ । वित्तीय ज्ञानमा लैङ्गिक भिन्नता सबै प्रदेशमा पाइन्छ ।
युवा पुस्ताहरु वित्तीय साक्षरता र यसका आयामहरु सबैमा अगाडि रहेका छन । खासगरी वित्तीय ज्ञानमा युवा पुस्ताहरु बढी अगाडि छन । १८-३० वर्षका मानिसरुको वित्तीय साक्षरता अंक ६३.२ प्रतिशत रहेको छ जबकि ६० वर्ष काटेकाहरुको वित्तीय साक्षरता २७९ प्रतिशत पाइएको छ । त्यस्तै शिक्षाको तह बढदै जादा पनि वित्तीय साक्षरता बढदै
गएको छ । रोजगार, औपचारिक क्षेत्रमा काम गर्ने व्यक्ति, उच्च सीप चाहिने पेशा र कृषि क्षेत्र भन्दा बाहेकका औद्योगिक क्षेत्रमा काम गर्ने व्यक्तिको वित्तीय साक्षरता तुलनात्मक रुपमा धेरै रहेको छ।
वित्तीय प्रयोगका प्रायः सबै सूचकमा तुलनात्मक रुपमा बागमती प्रदेशमा जनसंख्याको सबैभन्दा बढी हिस्साले र मधेस प्रदेशमा सबैभन्दा कम हिस्साले प्रयोग गर्ने गरेका छन । भुक्तानी सेवाका प्रयोग सबैभन्दा बढी महानगरपालिकामा ९१.९ प्रतिशत वयस्क जनसंख्याले गर्ने गरेको पाइएको छ । कृषि, निर्माण र अन्य क्षेत्रहरूमा रहेका कामदारहरू कम प्रतिशतले भुक्तानी उपकरणको प्रयोग गर्छन । अझै पनि ठूलो संख्यामा (४५.५४ प्रतिशत) मानिसहरु सामूहिक बचत ऋण प्रयोग गरिरहेका छन । २३.९७ प्रतिशत वयस्क जनसंख्याले स्टक तथा शेयर राखेका छन। तुलनात्मक रुपमा युवा पुस्ताको उच्च हिस्साले बचत, लगानी उपकरणहरूको प्रयोग गर्ने गरेको पाइएको छ । अन्य क्षेत्रको तुलनामा कृषि र निर्माण क्षेत्रका मानिसहरुको थोरै हिस्साले मात्र बचत उपकरण प्रयोग गरेका छन । सर्वेक्षणमा ४६ ३४ प्रतिशत वयस्क जनसंख्याले कर्जा प्रयोग गरेका छन भने जम्मा १७६० प्रतिशतले मात्र बैक कर्जा उपयोग गरेका छन । कृषि र निर्माण क्षेत्रका कामदारको सबैभन्दा कम हिस्साले बैंक कर्जा प्रयोग गरेका छन भने होटल र रेष्टुरेन्टका कामदारको बढी हिस्साले सामूहिक बचत ऋणको प्रयोग गरेका छन । राष्ट्रिय स्तरमा वयस्क जनसंख्याको २.३५ प्रतिशतले मात्र सरकारी सहुलियतपूर्ण कर्जाको प्रयोग गरेका छन । यसको निष्कर्सले समेत वित्तीय साक्षरता र वित्तीय समावेशीकरणका लागि नीति तथा कार्यक्रम तर्जुमा गर्दा प्रदेश, लिङ्ग, स्थानीय निकायको प्रकार, आयस्तर शैक्षिक स्तर, पेशा र क्षेत्रगतरुपमा रहेको भिन्नतालाई सम्बन्धित सरोकारवालाहरूले सम्बोधन गर्न आवश्यक देखिन्छ ।
अबको चरण वित्तीय समावेशिकरण हुदै आर्थिक सशक्तिकरणको यात्राको हो । विद्यालय स्तरबाटै विवेकि वित्तीय शिक्षा प्रदान गर्ने, ग्रामिण भेगका मानिसहरुमा बैकिङ प्रणालीमा जोडिन प्रेरित गर्ने, प्रभावकारी वित्तीय ज्ञान लक्षित कार्यक्रम गरि डिजिटल बैकिङ प्रबद्धन सहित वित्तीय निर्णय लिने क्षमता अभिवृद्धिमा उल्लेखनिय भुमिका निभाउदै ग्लोबल मनि बीक कर्मकाण्डी होईन सहि अर्थमा सफल बनाउनु अतिआवश्यक छ । ग्लोबल मनि वीकको स्थायी स्लोगन "Learn.Save.Earn " तथा ग्लोबल मनि वीक २०२५ को स्लोगान "Think before you follow, wise money tomorrow" लाई सार्थक बनाई बित्तीय समावेशिकरण हुदै आर्थिक सशक्तिकरणको यात्रा जारी राखौ ।
लेखक जोशी, नेपाल बैंक लिमिटेड महाराजगंज शाखाका शाखा प्रबन्धक हुन
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस