नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा हस्तक्षेपकारी नियमनभन्दा पनि संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक रहेको बताए ।
इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान)ले आयोजना गरेको प्राधिकरणका नवनियुक्त अध्यक्ष ओझाको सम्मान तथा ‘अबको बिमा क्षेत्र’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले बिमा क्षेत्रको योगदान विश्लेषण गर्नुका साथै सरोकार भएकाहरूबाट प्राप्त सुझावका आधारमा समस्या समाधान गर्न नियामकीय कदम चालिने बताए ।
अध्यक्ष ओझाले भने,‘बिमा क्षेत्रमा ‘अन्डरराइटिङ’ का विषयमा देखिएका समस्या समाधानमा नियामकको हस्तक्षेपकारी भूमिकाबाट मात्रै हुने नभई बिमा कम्पनीले आफ्नो आन्तरिक सुशासन र स्वनियमन पनि कायम राख्नुपर्छ । यस क्षेत्रले राष्ट्र निर्माणमा पुर्याउनसक्ने योगदानलाई केन्द्रमा राखेर हामीले आवश्यक नियामकीय हस्तक्षेप गर्छौं।'
विगतमा भएका असल अभ्यासको निरन्तरता र सुधारका प्रयासलाई थप व्यवस्थित एवं परिस्कृत बनाउँदै लगिने उनले प्रतिबद्धता जनाए ।
बिमा क्षेत्रको सुधारका लागि बीमक संस्थाहरू, मध्यस्थकर्ता, सर्भेयर सङ्घलगायत सरोकार भएका निकायसँग निरन्तर छलफल र सुझाव लिने काम भइरहेको उनले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस