नेपाली कांग्रेसले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ। शनिबार बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी बैठकमा गृहमन्त्री रमेश लेखकले घटनाको विस्तृत विवरण प्रस्तुत गरेका थिए। बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पूर्वराजाको निर्देशनमै यो प्रदर्शन उक्साइएको दाबी गरे।
कांग्रेसले प्रदर्शनको क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा भएको तोडफोडको कडा शब्दमा निन्दा गरेको छ। प्रवक्ता महतका अनुसार राजावादीहरू पूर्वनियोजित योजनासहित अराजक गतिविधिमा उत्रिएका थिए। "मिडिया हाउस, व्यवसायिक भवन, निजी घरहरूमाथि लक्षित हमला गरिएको छ, जुन नियोजित थियो," उनले भने।
कांग्रेसले तीनकुने घटनालाई लोकतन्त्रमाथिको गम्भीर प्रहार भएको बताउँदै यसलाई निरंकुश शासन पुनःस्थापना गर्ने प्रयासको रूपमा चित्रण गरेको छ। "यस घटनाले लोकतान्त्रिक प्रणालीमा गम्भीर असर पार्ने खतरा देखाएको छ," महतले बताए। पार्टीले यस घटनालाई शान्ति सुव्यवस्थामाथिको योजनाबद्ध प्रहारको रूपमा व्याख्या गरेको छ।
कांग्रेसले घटनामा संलग्न दोषीहरूलाई तत्काल कानुनी कारबाही गर्न माग गरेको छ। साथै, यस विषयमा अन्य दलहरूसँग छलफल गर्न छिट्टै सर्वदलीय बैठक आह्वान गर्ने तयारी भइरहेको प्रवक्ता महतले जानकारी दिए। "यो केवल सरकारको जिम्मेवारी मात्र होइन, लोकतन्त्र बचाउन सबै दलको एकतासमेत आवश्यक छ," उनले थपे।
कांग्रेसले पूर्वराजा शाहको संलग्नता पुष्टि भएमा कानुनी कारबाही गर्नुपर्ने माग अघि सारेको छ। पदाधिकारी बैठकमा प्रस्तुत गरिएका जानकारीहरूका आधारमा कांग्रेसले पूर्वराजाको भूमिकामाथि गम्भीर अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको छ। पार्टीका नेताहरूले यदि यस घटनामा पूर्वराजाको प्रत्यक्ष संलग्नता पुष्टि भए, उनीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सरकारलाई दबाब दिने बताएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस