नेपाल चेम्बर अफ कमर्सले प्रदर्शनका नाममा निजी तथा सार्वजनिक सम्पत्ति एवं संचारगृहमा भएको तोडफोड, आगजनी तथा लुटपाटप्रति गम्भीर आपत्ति जनाएको छ।
गत शुक्रबार काठमाडौंका बानेश्वर, तिनकुने, कोटेश्वर लगायतका क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति चेम्बरले घोर निन्दा व्यक्त गरेको छ। चेम्बरद्धारा जारी विज्ञप्तिमा भनिएको छ, "प्रदर्शनका क्रममा दुई युवासहित एक पत्रकारको दुःखद निधन भएको छ, भने सार्वजनिक तथा निजी थुप्रै भौतिक सम्पत्ति र संचारगृहमा क्षति पुगेको छ।"
चेम्बर अफ कमर्सले यस्ता हिंसात्मक घटनाहरूको विरोध गर्दै पीडितहरूलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ। साथै, चेम्बरले आन्दोलनका क्रममा नागरिक तथा उद्यमी व्यवसायीको पेसा-व्यवसाय गर्ने नैसर्गिक अधिकार हनन भएको उल्लेख गरेको छ।
चेम्बर अफ कमर्सले ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ। मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेका बेला भएका यस्ता उच्छृङ्खल गतिविधिले आर्थिक अवस्था थप धरासायी बनाउने भन्दै चेम्बरले सबै सरोकारवालालाई संयमित रहन आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस