Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुने घटनाबारे मुख खोले, हिंसा र तोडफोडप्रति दुःख व्यक्त (भिडियो)

अर्थ संसार

आइतबार, ३१ चैत्र २०८१, १८ : ५८ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले गत चैत १५ गते भएको तीनकुने घटनाका बारेमा पहिलोपटक सार्वजनिक धारणा व्यक्त गरेका छन्। नयाँ वर्ष २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले तीनकुनेमा राजसंस्था पुनःस्थापनाको मागसहित भएको आन्दोलनको क्रममा भएका हिंसा, आगजनी र तोडफोडप्रति गहिरो दुःख व्यक्त गरेका हुन्।

पूर्वराजा शाहले उक्त घटनालाई स्मरण गर्दै भनेका छन्, ‘केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी, तोडफोड भयो, त्यसबाट जस प्रकारको मानवीय एवम् भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लाग्यो।’ उनले नागरिक स्वतन्त्रता भन्दा ठूलो कुनै तन्त्र वा वाद नहुने समेत स्पष्ट पारेका छन्।

शाहको भनाइमा, ‘वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो, नराम्रो जनगुनासो वा गुणगान सुन्ने परम्परा र संस्कार हुन्छ।’ उनका अनुसार समाजका विभिन्न वर्ग, समुदाय र दलहरूले आफ्ना विचार राख्नु प्रजातन्त्रको सुन्दर पक्ष हो तर त्यसमा संयमित हुनुपर्ने आवश्यकता पनि उत्तिकै छ।

उनले नयाँ वर्षको शुभकामना सन्देशमार्फत जनतामा देश र भविष्यप्रतिको जागरुकता बढ्दै गएको भन्दै त्यसलाई सकारात्मक रूपमा लिएको उल्लेख गरेका छन्। साथै, नेपालको समृद्धि, स्वाधीनता र आत्मनिर्भरताको पक्षमा सबै नेपाली एकजुट भएर लाग्नुपर्ने सन्देश दिएका छन्।

पूर्वराजाले सन्देशमार्फत सुशासन, भ्रष्टाचारमुक्त प्रशासन, युवाको स्वदेशमै रोजगारीको अवसर, शिक्षा र स्वास्थ्य प्रणालीको सुधारलगायतका विषयमा जोड दिएका छन्। राष्ट्र निर्माणमा नेपाली जनताको सामूहिक प्रयास अपरिहार्य भएको उनको धारणा छ।

उनको सन्देशमा नेपाली नेपालीबीचको द्वन्द्व अन्त्य गर्न, परस्पर विश्वासको वातावरण निर्माण गर्न र देशलाई स्थिरता र समृद्धिको दिशामा अघि बढाउन सबैलाई सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको