चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म वाणिज्य बैंकहरुले सवा ४१ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएका छन्।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले ९ महिनामा ४१ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ नाफा आर्जन गरेका हुन् । बैंकहरुले गरेको नाफा गत आर्थिक वर्षको तुलनामा १.४० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए ।
कुनले कति कमाए ?
सर्वाधिक नाफा आर्जन गर्नेमा नबिल बैंक पहिलो नम्बरमा रहेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकको नाफा ८.२१ प्रतिशतले बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले ४ अर्ब ६६ करोड नाफा कमाएको थियो । दोस्रो नम्बरमा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ३८.६१ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड रुपैयाँ, तेस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकको ३७.१२ प्रतिशतले बढेर ४ अर्ब ५३ करोड र चौथो नम्बरमा रहेको एभरेष्ट बैंकको ३२.५५ प्रतिशतले बढेर ३ अर्ब ४५ करोठ ७६ लाख रुपैयाँ पुगेको छ ।
यसअवधिमा नेपाल बैंकको नाफा २०३२ प्रतिशतले बढेर २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ पुगेको छ । एनएमबि बैंकको ५.८८ प्रतिशतले नाफा वृद्धि भई २ अर्ब ३७ करोड ३२ लाख, प्रभु बैंकको ३.५१ प्रतिशतले नाफा बढेर १ अर्ब ८७ करोड,लक्ष्मी सनराइज बैंकको २.२४ प्रतिशतले बढेर १ अर्ब ६५ करोड र सानिमा बैंकको १४.८० प्रतिशतले बढेर १ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
प्राइम बैंकको नाफा भने ओरालो लागेको छ । बैंकको नाफा २२.५६ प्रतिशतले घटेर २ अर्ब २२ करोड रुपैयाा आइपुगेको हो । साथै स्टान्डर्ड चार्टड बैंकको ११.१७ प्रतिशतले घटेर २ अर्ब १७ करोड रुपैयाँ नाफा पुगेको छ । कृषि विकास बैंकको नाफा १०.१७ प्रतिशतले घटेर १ अर्ब ८४ करोड, सिद्धार्थ बैंकको०.९४ प्रतिशतले घटेर १ अर्ब ६६ करोड र राष्ट्रिय वाणिज्य बैंकको ४९.२९ प्रतिशतले घटेर १ अर्ब २० करोड पुगेको छ ।
साथै, नेपाल एसबिआई बैंकको १ अर्ब २० करोड, माछापुच्छ्रे बैंकको १ अर्ब १० करोड, सिटिजन्स बैंकको ९६ करोड १८ लाख, हिमालयन बैंकको ५० करोड, कुमारी बैंकको २८ करोड र एनआईसी एशिया बैंकको १५ करोड रुपैयाँ नाफा रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस