राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्थाको पक्षमा बोल्नु लोकतन्त्रको विरोध नभएको बताएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले राजसंस्था र प्रजातन्त्र एकआपसको विकल्प नभएको बताए । उनले विश्वमा धेरै सम्पन्न देशहरुमा राजसंस्था र प्रजातन्त्र सँगसँगै अघि बढेको बताए ।
राजसंस्थाको पक्षमा बोल्दैमा प्रजातन्त्रको विरोधी भनेर गलत भाष्य निर्माण नगर्न उनले आग्रह गरे । लोकतन्त्रको वकालत गर्दैमा कोही लोकतन्त्रवादी हुन नसक्ने उनको जिकिर छ । उनले राजसंस्थाको पक्षमा वकालत गर्ने राजनीतिक दलहरुलाई निरंकुश व्यवहार गर्ने ठूला राजनीतिक दलहरु कसरी लोकतन्त्रवादी भए भनेर प्रश्न गरे ।
उनले भने, ‘राजासंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भन्ने गलत भाष्य निर्माण गरिएको छ यो गरिमामय संसदमा र जनताका प्रतिनिधिहरुले त्यो गलत परिभाषा लगाउनु हुँदैन भन्ने चाहन्छु । राजसंसथाको कुरा गर्नु प्रजातन्त्र र लोकतन्त्रको विरोध गर्नु होइन । र राजसंस्था र प्रजातन्त्र एकआपसका विकल्प होइनन् । दुनियाँका धेरै समृद्धि देशहरु छन् सुखी र सम्पन्न देशहरु छन् जहाँ लोकतन्त्र र राजसंस्था सँगसँगै छन् त्यसकारण कसैले यहाँ वा राप्रपाले यहाँ राजसंस्था वा राजाको पक्षमा कुरा गर्नु लोकतन्त्रको विरुद्धमा होइन । यो गलत भाष्य गलत भाष्य निर्माण नगरियोस् भनेर सबै राजनीतिक दलहरु र माननीय सदस्यहरुलाई आग्रह गर्न चाहन्छु । लोकतन्त्रको विरोधी को छ र लोकतन्त्रको पक्षमा को छ भन्ने कुरा व्यवहारले देखाउने कुरा हो । लोकतन्त्रको डंका पिटेर त्यो लोकतन्त्रवादी हुँदैन । व्यावहारमा निरंकुश चरित्र गर्ने हिजो राजाले यस्तो गरेको थियो भनेर अरु दलहरुमाथि अरु विपक्षीहरुमाथि आफू निरंकुश व्यवहार गर्ने अनि आफू चाहीँ ठूलो लोकतन्त्रवादी हुने ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस