डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो १०० दिन पुरा गर्न नजिकिँदै गर्दा, अमेरिकी जनताले उनको कार्यसम्पादनप्रति गहिरो असन्तुष्टि व्यक्त गरेका छन्। एसएसआरएसद्वारा गरिएको सीएनएनको नयाँ सर्वेक्षण अनुसार, ट्रम्पको अनुमोदन दर हाल ४१ प्रतिशतमा झरेको छ, जुन ड्वाइट आइजनहावरदेखि हालसम्म कुनै पनि नयाँ निर्वाचित राष्ट्रपतिका लागि सबैभन्दा न्यूनतम हो – यसमा ट्रम्पकै पहिलो कार्यकाल समेत समावेश छ।
ट्रम्पले सन् २०२५ जनवरी २० मा दोस्रो पटक अमेरिकी राष्ट्रपति पद सम्हालेका थिए, र अब अप्रिल २९ मा उनले १०० दिन पुरा गर्नेछन्।
सर्वेक्षण अनुसार ट्रम्पको अनुमोदन दर मार्च महिनादेखि ४ प्रतिशतले घटेको छ, र फेब्रुअरीको अन्त्यको तुलनामा ७ प्रतिशतले कम भएको छ। सर्वेक्षणमा मात्र २२ प्रतिशतले उनको कार्यसम्पादनलाई कडा समर्थन गरेका छन् भने करिब ४५ प्रतिशतले कडा असन्तुष्टि जनाएका छन्।
‘अव्यवस्थित’ १०० दिन
ट्रम्पको दोस्रो कार्यकालको सुरुवात निकै ‘अव्यवस्थित’ रहेको बताइएको छ। उनले विश्वव्यापी रुपमा भन्सार शुल्क (टैरिफ) युद्ध थालनी गरेका छन्, अमेरिकी वैदेशिक सहायता भारी मात्रामा घटाएका छन्, र युक्रेनमाथि रुसको आक्रमणबारे रुसकै धारणा अँगालेका छन्। साथै, उनले ग्रिनल्याण्डलाई अमेरिकामा समावेश गर्ने, पनामा नहर पुनः कब्जा गर्ने र क्यानडालाई अमेरिका अन्तर्गतको ५१औं राज्य बनाउने जस्ता विवादास्पद अभिव्यक्ति दिएका छन्।
महिलाहरू र हिस्प्यानिक समुदायमा गिरावट
महिलाहरू र हिस्प्यानिक अमेरिकीहरूको बीचमा ट्रम्पको समर्थन मार्चदेखि ७ प्रतिशतले घटेको छ। मार्चमा महिलामाझ समर्थन ३६ प्रतिशत र हिस्प्यानिकहरूमाझ २८ प्रतिशत रहेको थियो।
राजनीतिक रूपमा, ८६ प्रतिशत रिपब्लिकनहरूले ट्रम्पलाई समर्थन गरेका छन् भने ९३ प्रतिशत डेमोक्र्याटहरूले असन्तुष्टि व्यक्त गरेका छन्। स्वतन्त्र मतदाताहरू (इन्डिपेन्डेन्ट्स) माझ ट्रम्पको समर्थन दर घटेर ३१ प्रतिशतमा झरेको छ, जुन उनको पहिलो कार्यकालमा देखिएको सबैभन्दा कम स्तरसँग मिल्दोजुल्दो छ।
अर्थतन्त्र र मुद्रास्फीति (इन्फ्लेसन) सम्बन्धी असन्तुष्टि
आर्थिक मामिलामा ट्रम्पको समर्थन पनि घटेको छ। विशेषगरी भन्सार शुल्कको योजना र स्टक बजारमा आएको अस्थिरताले उनको लोकप्रियता घटाएको हो। मुद्रास्फीति सम्हाल्न ट्रम्पको कार्यसम्पादनलाई समर्थन गर्ने दर ९ अंकले घटेर ३५ प्रतिशतमा आएको छ। भन्सार शुल्क सम्बन्धी समर्थन पनि ४ अंकले घटेर ३५ प्रतिशतमा पुगेको छ। समग्र अर्थतन्त्र सम्हाल्ने ट्रम्पको प्रदर्शनमा सन्तुष्टि ५ अंकले घटेर ३९ प्रतिशतमा झरेको छ।
विदेश नीति र युक्रेन युद्धप्रति असन्तुष्टि
विदेश मामिलामा ट्रम्पले रुससँग मैत्रीपूर्ण व्यवहार देखाउँदै युक्रेन युद्धमा रुसकै पक्षमा नरम रुख अपनाएका छन्। सीएनएन सर्वेक्षण अनुसार, विदेश मामिलामा ट्रम्पको समर्थन दर ३९ प्रतिशत मात्र छ, जबकि ६० प्रतिशतले असन्तुष्टि जनाएका छन्।
स्वीकृति पाएको एकमात्र क्षेत्र
लैङ्गिक पहिचान र ट्रान्सजेन्डरसम्बन्धी मुद्दाहरूमा ट्रम्पको कार्यसम्पादनलाई ५१ प्रतिशतले समर्थन गरेका छन्। रिपब्लिकनहरूको ९० प्रतिशत, स्वतन्त्र मतदाताहरूको ४८ प्रतिशत र डेमोक्र्याटहरूको १६ प्रतिशतले यस मामिलामा समर्थन व्यक्त गरेका छन्।
ट्रम्पको भनाइ
ट्रम्पले टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा भनेका छन्, “मैले जुन एजेन्डामा चुनाव जितेको थिएँ, अहिले त्यसैलाई कार्यान्वयन गर्दैछु।”
सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा डेमोक्र्याट उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्पले दोस्रो कार्यकालका लागि जीत हासिल गरेका थिए। तर, उनको नयाँ कार्यकालको आरम्भले विश्वका अन्य देशहरूमा चिन्ता उत्पन्न गराएको बताइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस