द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवद्र्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ।
ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेजका सह–संस्थापक तथा कार्यकारी निर्देशक महेन्द्रराज कँडेल र फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो। उक्त सम्झौतामा द ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरका प्रमुख गणेश पौडेल र फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल पनि उपस्थित हुनुहुन्थ्यो।
सम्झौता अनुसार, दुबै संस्थाले स्थानीय उद्यमीहरूका लागि स्टार्टअप इन्क्युबेसन तथा मार्गदर्शन कार्यक्रम सञ्चालन गर्नेछन्। साथै, डिजिटल साक्षरता, व्यापार र प्रविधिमा सीप विकास सम्बन्धी कार्यशालाहरू आयोजना गरिनेछ। कृषि प्रविधि, ग्रामीण पर्यटन र हस्तकला आधारित स्टार्टअपहरूमा समेत सहकार्य गर्ने योजना रहेको छ।
त्यस्तै, स्मार्ट गाउँ तथा डिजिटल शासन प्रणालीको प्रवद्र्धन, उद्यमशीलता सम्बन्धी नीति निर्माणमा सहयोग, र ग्रामीण नवप्रवर्तकहरूलाई बजार तथा लगानी पहुँच विस्तारका लागि समेत दुबै संस्थाले मिलेर काम गर्नेछन्।
सम्झौतापछि प्रतिक्रिया दिँदै द ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेलले भने, "यो साझेदारी टीबीसीको ग्रासरुटमा आधारित नवप्रवर्तनप्रतिको प्रतिबद्धता हो। फिक्कलका युवा र किसानहरूको उद्यमशील सम्भावनालाई अनुसन्धान गरी बजार र प्रविधिसँग जोड्ने काममा हामी अघि बढ्नेछौं।"
फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले यो समझदारीलाई समुदायका लागि रूपान्तरणकारी अवसरका रूपमा व्याख्या गर्दै भन्नुभयो, "टीबीसीसँगको सहकार्यले रोजगारी सिर्जना, सीप अभिवृद्धि र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउनेछ।"
टीबीसी इन्क्युबेसन सेन्टरका प्रमुख गणेश पौडेलले पनि नवप्रवर्तनलाई विकेन्द्रित गर्दै समावेशी आर्थिक अवसर सिर्जना गर्ने लक्ष्यमा यो साझेदारी महत्वपूर्ण हुने बताएका छन्।
सम्झौता अनुसार, दुबै पक्षले संयुक्त रूपमा ‘स्टिरिङ कमिटी’ गठन गरी कार्यक्रमहरूको योजना, कार्यान्वयन र मूल्याङ्कन गर्नेछन्। प्रारम्भिक कार्यक्रमहरू साझा स्रोतको उपयोग गरी सुरु गरिनेछ भने दीर्घकालीन परियोजनाहरूका लागि बाह्य लगानी र सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गतको सहयोग खोजिने योजना रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस