नेपाल राष्ट्र बैंकको गभर्नर पद देशको सबैभन्दा चर्चित र आकर्षक नियुक्तिहरूमध्ये एक हो। हालै डा. विश्वनाथ पौडेल राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएपछि यो पद फेरि एकपटक सार्वजनिक चासोको केन्द्रमा आएको छ। गभर्नर पदले राजनीतिक, नीतिगत र आर्थिक पहुँच मात्र होइन, महत्वपूर्ण सेवा–सुविधासमेत प्रदान गर्छ।
डा. पौडेल चैत २४ गते रिक्त रहेको गभर्नर पदमा नियुक्त भएका हुन्।
हालको कानुनी व्यवस्थाअनुसार राष्ट्र बैंकका गभर्नरले मासिक १ लाख ३६ हजार रुपैयाँ तलब पाउँछन्। त्यसमा मासिक ६३ हजार ६० रुपैयाँ ‘केन्द्रीय बैंक भत्ता’, ९ हजार ६ सय रुपैयाँ खाजा खर्च, र ७ हजार ४५० रुपैयाँ इन्टरनेट खर्च थपिन्छ।
यसबाहेक गभर्नरले सवारीसाधन, इन्धन, मर्मत, पत्रपत्रिका, चालक, र औषधोपचारजस्ता सुविधा पनि निःशुल्क रुपमा पाउँछन्। उनी सहभागी हुने प्रत्येक सञ्चालक समिति बैठकका लागि ९ हजार रुपैयाँ र व्यवस्थापन समिति बैठकका लागि छुट्टै भत्ता पनि प्रदान गरिन्छ।
२०७९/८० र २०८०/८१ को तथ्यांकअनुसार तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले एक वर्षमा करिब १ करोड रुपैयाँ बराबरको तलब, भत्ता र अन्य सुविधा लिएका थिए। २०८०/८१ मा उनले कुल ६४ लाख ६२ हजार रुपैयाँ प्राप्त गरेका थिए। तीमध्ये १६ लाख ३२ हजार तलब, ४५ लाख रुपैयाँ विभिन्न भत्ता र सेवा–सुविधा तथा ३ लाख ३३ हजार रुपैयाँ बोर्ड बैठक भत्ताको रुपमा लिएका थिए। अघिल्लो वर्ष (२०७९/८०) मा उनले ६१ लाख रुपैयाँ बराबरको लाभ लिएका थिए।
यसबाहेक वैदेशिक भ्रमण, त्यसबाट प्राप्त हुने भत्ता र अन्य सेवा–सुविधा जोड्दा गभर्नरको वार्षिक लाभ करिब १ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
गभर्नरको आर्थिक लाभले मात्रै यो पदलाई विशेष बनाएको होइन। राष्ट्र बैंक प्रमुखको रुपमा गभर्नरले देशको मौद्रिक नीति निर्माण, मूल्य स्थिरता, बैंकिङ नियमन, वित्तीय प्रणालीको निरीक्षण तथा अनुगमनजस्ता गम्भीर जिम्मेवारी बोकेका हुन्छन्।
प्रधानमन्त्री, अर्थमन्त्रीलगायत उच्चस्तरीय सरकारी अधिकारीहरूसँग नियमित परामर्श, बजेट निर्माणमा सल्लाह, र विदेशी भ्रमणमार्फत अन्तर्राष्ट्रिय मंचमा नेपालको प्रतिनिधित्व गर्ने अवसरसमेत गभर्नरलाई प्राप्त हुन्छ।
त्यसैगरी, मुलुकको नोटमा हस्ताक्षर गर्ने विशेष अधिकार गभर्नरको प्रतिष्ठामा थप मूल्यवृद्धि गर्छ। यस कारण पनि राष्ट्र बैंकको गभर्नर पद केवल आकर्षक मात्र होइन, अत्यन्तै गरिमामय र दायित्वपूर्ण मानिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस