सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि करिब २० खर्ब रुपैयाँको बजेट आज प्रस्तुत गर्न लागेको छ।
अर्थमन्त्री विष्णु पौडेलले अपराह्न ३ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने कार्यतालिका तय भएको छ।
स्रोतका अनुसार राष्ट्रिय योजना आयोगले १९ खर्ब रुपैयाँको बजेट सिलिङ दिएको भए पनि, मध्यकालीन खर्च संरचना र स्रोत व्यवस्थापन समितिका आधारमा करिब २० खर्बको बजेट ल्याउने तयारी गरिएको हो। अर्थ मन्त्रालयका अनुसार चालू योजना सम्पन्न गर्नेमा केन्द्रित रही, नयाँ योजना थप नगरी बजेट ल्याइनेछ।
यसपटकको बजेटमा सामाजिक सुरक्षा कार्यक्रम परिमार्जन, कृषिलाई व्यवसायिक बनाउने योजना, वृद्धभत्ता उमेर सीमा ६८ बाट ७० वर्ष पुर्याउने निर्णय, र सरकारी कर्मचारीको तलब वृद्धि प्रमुख विशेषताहरू हुनेछन्।
आर्थिक उत्पादन वृद्धि गर्न उद्योगका कच्चा पदार्थ सहज रूपमा उपलब्ध गराउने नीति ल्याइनेछ। नवउद्यम (स्टार्टअप) र स्वरोजगार कार्यक्रम बजेटको प्राथमिकतामा छन्। सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनमा विशेष ध्यान दिइनेछ।सरकारले आर्थिक रोजगार दशक र कृषि लगानी दशक लाई विशेष प्राथमिकता दिने जनाएको छ। साथै, मध्यपहाडी लोकमार्ग वरपर ग्रीन इकोनमिक बेल्ट घोषणा गर्ने योजना पनि बजेटमा समेटिनेछ।
बाँझो करिब १० लाख हेक्टर जमिनमा सामूहिक तथा करार खेती को व्यवस्था गरिनेछ। कृषि प्रयोगशाला सुधार, पकेट क्षेत्र निर्धारण, र उच्च मूल्यका कृषि उपजको उत्पादन प्रवर्द्धनमा जोड दिइनेछ। औद्योगिक ग्रामहरू समयमै सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गरिनेछ। रुग्ण सरकारी उद्योगहरूलाई सार्वजनिक-निजी साझेदारीमा सञ्चालन गर्ने नीति लिइनेछ। साथै, नदीजन्य निर्माण सामग्रीको उत्पादन र बिक्री व्यवस्थापन सम्बन्धी प्रावधान पनि बजेटमा समावेश हुने जनाइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस