अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट संसदमा प्रस्तुत गर्ने क्रममा मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख भएको दाबी गरेका छन्।
संघीय संसदमा मन्त्रिपरिषद्बाट पारित बजेट प्रस्तुत गर्दै उनले वर्तमान सरकार आएपछि अर्थतन्त्रले लय समातेको उल्लेख गरे। 'सरकार गठनपछि अधिकांश आर्थिक सूचकहरूमा उल्लेखनीय सुधार देखिएको छ,'उनले भने, 'अर्थतन्त्रको समग्र अवस्था सकारात्मक छ।'
उनका अनुसार चालु आर्थिक वर्षमा ४.६ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरिएको छ। बीमा सेवा लगायत अन्य क्षेत्रहरूमा पनि सकारात्मक वृद्धि देखिने अपेक्षा गरिएको उनले बताए। ऊर्जा क्षेत्रमा विद्युत उत्पादनमा उल्लेखनीय प्रगति भएको उल्लेख गर्दै उनले यसले औद्योगिक र घरेलु क्षेत्रमा ऊर्जा आपूर्ति सहज बनाउने बताए।
पर्यटन क्षेत्रमा पनि सुधार भएको जानकारी दिँदै उनले विदेशी पर्यटक आगमन ९ प्रतिशतले वृद्धि भएको उल्लेख गरे। चालु खाता सन्तुलनमा २१० अर्ब रुपैयाँको बचत देखिएको र विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको जानकारी उनले दिए।
बैंकिङ क्षेत्रमा पनि निक्षेप र कर्जा दुवैको प्रवाह बढेको तथा ब्याजदर घट्दो क्रममा रहेको उनले बताए। पौडेलका अनुसार हालको आर्थिक वातावरण निजी लगानीका लागि अनुकूल बन्दै गएको छ।
त्यस्तै, पूँजी बजारमा पनि सुधार देखिएको भन्दै उनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा उल्लेखनीय फड्को आएको बताए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस