अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै सरकार मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा विश्वास दिलाउने दिशामा अघि बढ्ने दाबी गरेका छन्। उनले चाँडै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्ने प्रतिबद्धता पनि व्यक्त गरे।
संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रको लगानी प्रवर्द्धनका लागि सरकार सक्रिय रूपमा जुट्ने स्पष्ट पारे। “निजी क्षेत्र समृद्धिको साझेदार हो, लगानीमैत्री वातावरण निर्माण हाम्रो प्राथमिकता हो,” उनले भने।
उनले स्रोतहरूको विधिकरण गरी राजस्व प्रणालीलाई थप पारदर्शी र सक्षम बनाउने घोषणा गरे। “राजस्व संकलन प्रणाली मजबुत पारिन्छ, संरचना सुधार र पारदर्शिता सुनिश्चित गरिन्छ,” पौडेलले भने।
बेरोजगार युवालाई लक्षित गरी स्वदेशमै रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याइने उनले जानकारी दिए। “युवा लक्षित कार्यक्रमहरूमार्फत देशभित्रै रोजगारी सिर्जना गर्ने लक्ष्य लिइएको छ,” उनले भने।
अर्थमन्त्री पौडेलले नयाँ बजेटले आर्थिक निराशा चिर्दै जनताको भरोसा पुनः स्थापित गर्ने प्रयास गर्ने बताए। “अर्थतन्त्रको विस्तार र सकारात्मक रुपान्तरणमा बजेट केन्द्रित हुनेछ,” उनले उल्लेख गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस