ट्रेड टावर लिमिटेडले जारी गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) मा आवेदन दिने समय एक दिन थपिएको छ। अब लगानीकर्ताले भोलि जेठ २० गते, मंगलबारसम्म आवेदन दिन सक्नेछन्।
भोटो जात्राको बिदाले आवेदन समय एक दिन थप
जेठ १८ गते शनिबार नेपाल सरकारले भोटो जात्राको अवसरमा उपत्यकामा सार्वजनिक बिदा दिएको कारण आइपीओमा आवेदन दिन समय नपुगेको भन्दै आइतबारको दिनको समय थप गरिएको हो। यसअघि कम्पनीले जेठ १४ गतेदेखि आइपीओ जारी गरेको थियो।
३२ लाख ९६ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुला
कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशत बराबरको सेयर निष्काशन गर्न अनुमति पाएको थियो। सो अनुसार कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएपनि यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीका लागि तोकिएको भाग छुट्याएर बाँडफाँड गरिसकेको छ।
अब कम्पनीले ३२ लाख ९६ हजार ५०५.१९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन खुला गरेको हो।
वैदेशिक रोजगार, म्युचुअल फण्ड र कर्मचारी भाग पहिल्यै बाँडफाँड
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोष (म्युचुअल फण्ड) का लागि १ लाख ९८ हजार ५८४.६५ कित्ता, र कर्मचारीहरुको लागि ७९ हजार ४३३.८६ कित्ता सेयर छुट्याएर बाँडफाँड गरिसकिएको हो।
१० देखि १ हजार कित्तासम्म आवेदन दिन सकिने
कम्पनीको आइपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ। लगानीकर्ताले सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
इक्रा नेपालबाट BB- रेटिङ
आइपीओ निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई “ICRA NP-IR BB– (Double B Minus)” रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले मेरो सेयर सफ्टवेयर, साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस