चालु आर्थिक वर्षको जेठको पहिलो सातासम्म बीमा क्षेत्रका ६ कम्पनीले हकप्रद सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति प्राप्त गरेका छन्। अझै ४ बीमा कम्पनीले स्वीकृतिको पर्खाइमा रहेका छन्।
जीवन बीमा समूहमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपाल, सन नेपाल लाइफ र एसियन लाइफ इन्स्योरेन्स ले हकप्रद सेयर निष्कासन अनुमति पाएका छन्।
एलआईसीले हालसम्म चुक्तापुँजीको ८८.४५ प्रतिशत बराबरको २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ हकप्रद सेयर बिक्री गरिसकेको छ। सन नेपाल लाइफले हाल कायम पूँजीको २७ प्रतिशत (१ अर्ब ६ करोड ९६ लाख रुपैयाँ) बराबरको हकप्रद सेयर बिक्री खुला गरिरहेको छ। एसियन लाइफले ४२ प्रतिशत हकप्रद सेयर जारी गर्न बुक क्लोज मिति तय गरिसकेको छ, तर निष्कासन मिति अझै सार्वजनिक गरेको छैन।
निर्जीवन बीमा समूहतर्फ एनएलजी इन्स्योरेन्स, नेको इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स ले सेबोनबाट हकप्रद सेयर निष्कासन अनुमति पाएका छन्। एनएलजीले ६२.६५ प्रतिशत (९६ करोड ३१ लाख रुपैयाँ) र नेको इन्स्योरेन्सले २५ प्रतिशत (५० करोड ३० लाख रुपैयाँ) बराबरको हकप्रद सेयर जारी गरिसकेका छन्।
नेपाल इन्स्योरेन्सले ४० प्रतिशत (६५ करोड ७६ लाख रुपैयाँ) बराबरको हकप्रद सेयर निष्कासनको अनुमति पाए पनि बिक्री मिति अझै घोषणा गरिएको छैन।
चालु आर्थिक वर्षमा हालसम्म सेबोनले बीमा कम्पनीसहित १५ वटा कम्पनीलाई हकप्रद सेयर निष्कासनको स्वीकृति दिएको छ। यी कम्पनीहरूले कूल १४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्ने तयारी गरेका छन्।सेबोनको पाइपलाइनमा अझै १७ कम्पनी हकप्रद सेयर अनुमतिको प्रतीक्षामा छन्।
तीमध्ये ३ निर्जीवन बीमा कम्पनी (सानिमा जीआईसी, प्रभु इन्स्योरेन्स, युनाइटेड अजोड) र १ जीवन बीमा कम्पनी (प्रभु महालक्ष्मी लाइफ) रहेको छ।
- सानिमा जीआईसी: २५% (५० करोड रुपैयाँ)
- प्रभु इन्स्योरेन्स: ५०.१५% (८३ करोड ५० लाख रुपैयाँ)
- युनाइटेड अजोड: १५% (३१ करोड ५० लाख रुपैयाँ)
- प्रभु महालक्ष्मी लाइफ: १७% (७३ करोड रुपैयाँ)
यस्तै अन्य १३ कम्पनीले पनि कूल ६ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बराबरको हकप्रद सेयर निष्कासनका लागि प्रक्रिया अगाडि बढाइरहेका छन्। धितोपत्र बोर्डबाट अनुमति पाएका र पर्खाइमा रहेका सबै हकप्रद सेयर १०० रुपैयाँ अंकित मूल्यमा जारी गरिनेछन्।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीका लागि न्यूनतम ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीका लागि २ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजीको सीमा तोकेको छ। धेरै बीमा कम्पनीहरू हकप्रद सेयरमार्फत पूँजी वृद्धि गरिरहेका छन् भने केहीले बोनस सेयरमार्फत पूँजी पुर्याउने रणनीति अपनाएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस