Like us!
Follow us!
Connect us!
Watch us!

पठाओले भाडा नबढाएको स्पष्टिकरण, यात्रुहरूलाई अफलाइन राइड नगर्न आग्रह

अर्थ संसार

मंगलबार, २० जेठ २०८२, ०८ : ५४ मा प्रकाशित

पठाओले भाडा नबढाएको स्पष्टिकरण, यात्रुहरूलाई अफलाइन राइड नगर्न आग्रह

सार्वजनिक यातायात अवरुद्ध भएको आजको दिनमा केही राइड सेयरिङ सेवाहरूले भाडा वृद्धि गरेको समाचार सार्वजनिक भइरहेका बेला, लोकप्रिय राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले भने आफूले नियमित शुल्क बाहेक अतिरिक्त भाडा नलिएको स्पष्ट पारेको छ।

पठाओले यात्रुहरूलाई सहज सेवा दिन र राइडरहरूलाई उत्प्रेरित गर्न कम्पनीको तर्फबाट विशेष 'क्वेस्ट' र 'इन्सेन्टिभ' उपलब्ध गराइएको जनाएको छ। कम्पनीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत उक्त जानकारी सार्वजनिक गरेको हो।

यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै पठाओले अफलाइन यात्रा नगर्न स्पष्ट अनुरोध गरेको छ। अफलाइन यात्रा गर्दा राइडको कुनै डिजिटल रेकर्ड नहुने, बीमा सुविधा नपाइने र ठगी, डकैती वा दुर्व्यवहारको जोखिम बढी हुने भएकाले केवल मोबाइल एपमार्फत सेवा प्रयोग गर्न आग्रह गरिएको हो।

नेपाल प्रहरीले अघिल्ला घटनाहरूमा अफलाइन राइडमा संलग्न व्यक्तिबाट आपराधिक क्रियाकलाप हुने गरेको उल्लेख गर्दै आएको पृष्ठभूमिमा पठाओको यो चेतावनी आएको हो।

यात्राका क्रममा कुनै समस्या परेमा यात्रुहरूले २४ सै घण्टा सञ्चालनमा रहेको पठाओको कल सेन्टर ०१-५९७००९९ मा सम्पर्क गरी गुनासो वा उजुरी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको