राजधानीमा लगातारको वर्षा र मनसुनजन्य विपद्को बीचमा इनड्राइभ–पठाओ–याङ्गो लगायतका राइड सेयरिङ्ग सेवाका चालकहरूले यात्रुहरूबाट अत्यधिक भाडा असुलिरहेको गुनासो बढेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो ठगीपूर्ण व्यवहार नगर्न र नगर्न दिन पनि आग्रह गरेको छ। प्रशासनका अनुसार हाल मनसुनको कारण धेरै ठाउँमा यातायात प्रभावित भएपछि यात्रुहरूको बाध्यता र अवस्थाको फाइदा उठाउँदै केही चालकहरूले साविक दरभन्दा अत्यन्त चर्को भाडा असुलिरहेका छन्।
विज्ञप्तिमा भनिएको छ, “यदि कसैले यस्तो किसिमको ठगी गरेको भए आवश्यक प्रमाणसहित यस जिल्ला प्रशासन कार्यालयमा पेश गर्न सम्बन्धित सबैलाई आह्वान गरिएको छ।”
कार्यालयका प्रशासकीय अधिकृत सुजन कुमारी बर्देवाले हस्ताक्षर गरेको उक्त सूचनामा प्रशासनले स्पष्ट रूपमा चेतावनी दिएको छ कि यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई प्रचलित कानूनअनुसार कडा कारबाही गरिनेछ।
हाल सामाजिक सञ्जालमा पनि इनड्राइभ, पाथाओ र याङ्गो चालकहरूले सामान्य दूरीका यात्रामा समेत अस्वाभाविक रूपमा भाडा असुलिरहेको भन्दै जनआक्रोश व्यक्त भइरहेका छन्। धेरै प्रयोगकर्ताहरूले दोब्बरदेखि तीन गुणासम्म भाडा लिएको अनुभव सार्वजनिक गरेका छन्।
प्रशासनले यात्रुहरूलाई यस्तो अवस्थामा भाडा अस्वाभाविक रूपमा बढेको महसुस भए प्रमाण (जस्तै स्क्रिनसट, एपको भाडा विवरण, वा रसिद) सहित उजुरी गर्न आग्रह गरेको छ।
यससँगै प्रशासनले सबै राइड सेयरिङ सेवा प्रदायक कम्पनीहरूलाई पनि सेवा पारदर्शी र यात्रुमैत्री बनाउन जिम्मेवार बन्न आग्रह गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस