अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कबीच चलेको विवादको पछिल्लो मोडले चासोको विषय बनेको छ। एलन मस्कले डोनाल्ड ट्रम्पप्रति पछिल्लो समय गरेका केही कटु टिप्पणीहरूप्रति पश्चाताप जनाएपछि राष्ट्रपति ट्रम्पले पनि आफूले टेस्लालाई मन पराउने बताएका छन्।
बिहीबार (जुन १२), राष्ट्रपति ट्रम्पले क्यालिफोर्नियाको विद्युतीय सवारी नियमहरूलाई लक्षित गर्दै आयोजित ह्वाइट हाउसको एक कार्यक्रममा भने, "म टेस्ला मन पराउँछु।"
यसको एक दिनअघि मात्र एलन मस्कले आफ्नो सामाजिक सञ्जाल 'एक्स' मा एक पोस्टमार्फत भनेका थिए, "राष्ट्रपति @realDonaldTrump विरुद्ध अघिल्लो साता मैले गरेका केही टिप्पणीहरू हद नाघेका थिए, त्यसमा मलाई पछुतो छ।"
एलन मस्कले केही दिनअघि मात्र ट्रम्पको विशेष सल्लाहकारको भूमिकाबाट राजीनामा दिएका थिए। त्यसपछि उनले राष्ट्रपति ट्रम्पको कर कटौती र खर्चसम्बन्धी विधेयकलाई “घिनलाग्दो विकृति” भनेका थिए, जसपछि दुबैबीच एक हप्ता लामो सार्वजनिक वाकयुद्ध चलेको थियो।
त्यस वाकयुद्धपछि अहिले एलन मस्कको पछुतो र ट्रम्पको नरम अभिव्यक्तिले दुबै पक्षबीच मेलमिलापको संकेत देखिएको छ।
त्यस्तै, राष्ट्रपति ट्रम्पले क्यालिफोर्नियामा २०३५ बाट नयाँ ग्याँसमा चल्ने गाडी बिक्रीमा लगाइएको प्रतिबन्धसम्बन्धी नियमलाई रोक्ने प्रस्तावमा हस्ताक्षर गरेका छन्। क्यालिफोर्निया सरकारले भने उक्त कदमविरुद्ध कानुनी चुनौती दिने जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस