जीवन बीमा कम्पनीका अध्यक्ष तथा सदस्यहरुलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा ऐन र प्राधिकरणबाट जारी भएका नीति निर्देशनहरू कार्यान्वयनमा व्यवस्थापनलाई जिम्मेवार बनाउनका लागि सशक्त भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् । नेपाल बीमा प्राधिकरणको आयोजनामा जीवन बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा भएको छलफल एवम् अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओझाले बीमा व्यवसायको विस्तारका लागि आम जनतालाई लक्षित गरी नयाँ नयाँ बीमालेख ल्याउन निर्देशन दिएका हुन् ।
‘बाध्यकारी बीमाको दायराबाट बाहिर ननिस्किएसम्म बीमा बजार विस्तार हुन सक्दैन, बचतमा आधारित बीमामा केन्द्रित नभई टर्म इन्स्योरेन्स र नयाँ नयाँ जोखिम बहन गर्नेखालका बीमामा जानुपर्छ, नयाँ विकास गरिएका बीमालेखलाई शीघ्राति शीघ्र स्वीकृति दिन प्राधिकरण तयार छ,’ अध्यक्ष ओझाले भने । बीमा कम्पनीको लगानी विविधीकरणका लागि थप क्षेत्र खोल्न प्राधिकरण तयार रहेको उल्लेख गर्दै अध्यक्ष ओझाले भने, ‘बीमा कम्पनीले गर्ने लगानी जनताको पैसा हो, लगानी गर्दा जिम्मेवारीपूर्वक गर्नुपर्छ, लगानी सुरक्षित र दिगो लाभमा आधारित हुनुपर्छ, लगानी उपयुक्त छ छैन भनेर संचालक समितिले हेर्नुपर्छ, बीमकका लगानी शाखालाई थप जिम्मेवार बनाउनुपर्छ ।’
कानून बमोजिम बीमा व्यवसायको विकास एवम् विस्तारका लागि सहजीकरण गर्न र गुनासो नआउने गरी सेवा प्रवाह गर्न प्राधिकरण प्रतिवद्ध रहेको उल्लेख गर्दै अध्यक्ष ओझाले अस्वस्थ प्रतिस्पर्धा नगर्न, साना साना विषयमा पनि हस्तक्षेप गर्नुपर्ने अवस्था आउन नदिन, तोकिएकै समयमा वित्तीय विवरण बुझाउन र बीमा बजारलाई विधि बमोजिम संचालन गर्न बीमकका संचालक समितिका पदाधिकारीहरूको ध्यानाकर्षण गराएका थिए ।
अध्यक्ष ओझाले लागत नबढ्ने र सहज हुने गरी बीमा क्षेत्रमा नेपाल वित्तीय प्रतिवेदन मान–१७ (एनएफआरएस) लागू गर्न आवश्यक सहजीकरण गर्ने जानकारी दिए । त्यस्तै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा व्यवसायको प्रवद्र्धन र बीमितको हित रक्षाका लागि प्राधिकरणले नियामकीय भूमिका सँगसँगै सहजकर्ताको समेत भूमिका निर्वाह गर्दै आएको बताए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक हृदयश्वर पण्डितले बीमकमा संस्थागत सुशासन कायम गर्न संचालक समितिको भूमिका र उपनिर्देशक विरोध वाग्लेले बीमकको वित्तीय विवरण, वित्तीय अवस्था र लगानी विविधीकरणका सम्बन्धमा संचालक समितिको भूमिका सम्बन्धी छुट्टा छट्टै प्रस्तुती गरेका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस