हिम स्टार उर्जा कम्पनी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) मा आजदेखि आवेदन खुला भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेकाहरुका लागि आईपीओ खुला गरेको हो ।
कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रूपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रूपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओमा आवेदन जारी गर्ने अनुमति पाएको छ । उक्त आईपीओ प्रतिकित्ता अंकित मूल्य १०० रूपैयाँ रहेको छ । धितोपत्र बोर्डबाट निष्कासनका अनुमति पाएकोमध्ये १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दा र ९३ हजार २५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि प्रथम चरणमा निष्कासन गर्न लागेको हो ।
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका वडा नंं. ८, साविक भुसिङ्गा गाविसका सबै वडा र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २, साविक गोली गाविस वडा नं. १, २, ३, ४, ५ का स्थानीय बासिन्दाले आवेदन दिन पाउनेछन् । वैदेशिक रोजगारीका लागि छुट्याइएको आईपीओमा भने नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारीका लागि गएका नेपालीहरूले आवेदन दिन सक्नेछन् । यसमा आवेदन दिंदा घटीमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्म माग गर्न सकिनेछ ।
यसमा आवेदन दिने अन्तिम मिति असार १३ गतेसम्म रहेको छ । तर आयोजना प्रभावितबाट पर्याप्त आवेदन नपरेमा असार २९ गतेसम्म लम्बिनेछ भने वैदेशिक रोजगारीमा रहेकाको अवधि लम्बिने छैन । स्थानिय बासिन्दाले सिटिजन्स बैंकको लिखुपिके शाखा, ओखलढुङ्गा, खिजिदेम्बा गाउँपालिका वडा नं. ८ मा रहेको महिला भवन तथा जनस्वास्थ्य भवन र सोलुखुम्बु लिखुपिके गाउँपालिका वडा नं. २ को वडा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
साथै बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ भने आयोजना प्रभावितले आवेदनका लागि दरखास्त फाराम बापत २ रूपैयाँ तिर्नु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस