माथिल्लो मेवा खोला जलविद्युत आयोजनाका लागि लगानी जुटेको छ । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा ३१.९२ मेगावाट क्षमताको आयोजनाका लागि लगानी जुटेको हो ।
उक्त आयोजनाका लागि फाइनान्सियल क्लोजरसम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ । आयोजनाको प्रवर्धक कम्पनी सौर्य होल्डिङ प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सम्झौता भएको हो । सम्झौताअनुसार आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाइ र लक्ष्मी सनराइज बैंकको सहभागितामा ४ अर्ब ८५ करोड ७० लाख रुपैयाँ लगानी हुनेछ ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा उक्त सम्झौतामा ग्लोबल आइएमई बैंकका चिफ बिजनेश अफिसर कल्याण विक्रम पाँडे, लक्ष्मी सनराइज बैंकका चिफ बिजनेश अफिसर मनिशराज कुँवर र सौर्य होल्डिङका प्रबन्ध निर्देशक मोहन विक्रम कार्कीले हस्ताक्षर गरेका छन् ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले आयोजना निर्धारित समयभित्र सम्पन्न भई राज्यको ऊर्जा उत्पादन बढ्नुका साथै निर्यात प्रवर्धनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । यो आयोजना ताप्लेजुङको माथिल्लो मेवा खोलामा निर्माण हुने छ । उक्त आयोजनाको लागत ६ अर्ब ३७ करोड रुपैयाँ अनुमान गरिएको छ । सम्झौताअनुसार बैंकले ७५ प्रतिशत लगानी गर्नेछ र बाँकी २५ प्रतिशत रकम सौर्य होल्डिङले हकप्रद जारीबाट उठेको रकम लगानी गर्नेछ । यो आयोजना निर्माण सुरु भएको मितिबाट ३ वर्ष भित्र सम्पन्न हुने बताइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस