नेपाल बैंकर्स संघले एक विशेष कार्यक्रमको आयोजना गर्दै नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई बिदाइ तथा नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई स्वागत गरेको छ।
कार्यक्रममा निवर्तमान गभर्नर अधिकारीले आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै कोभिड–१९ महामारीजस्तो चुनौतीपूर्ण समयमा बैंकहरूले देखाएको नेतृत्व र सहयोगको प्रशंसा गर्नुभयो। उहाँले महामारीपछि अर्थतन्त्रको स्थायित्व राष्ट्र बैंक मात्र होइन, सम्पूर्ण बैंकिङ क्षेत्रको सहकार्य र साझा प्रयासको नतिजा भएको उल्लेख गर्नुभयो।
गभर्नर अधिकारीले आफ्नो कार्यकालका अनुभव र सिकाइ साझा गर्दै केही निर्णयहरू तत्कालीन अवस्थामा कठिन भए पनि दीर्घकालीन सुधारका लागि आवश्यक रहेको बताउनुभयो। साथै, भविष्यमा पनि आवश्यक परेमा बैंकिङ क्षेत्रलाई आफ्नो ज्ञान, अनुभव र सल्लाहमार्फत सघाउन सधैं तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैंकिङ क्षेत्रले विगतका गल्तीहरूबाट पाठ सिक्दै भविष्यमा ती गल्तीहरू नदोहोरिने गरी सतर्क रहनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।
नव नियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले पनि आफ्नो धारणा राख्दै, राष्ट्र बैंकको हालको प्रभावकारी नीति तथा व्यवस्थामा निरन्तरता दिइने बताउनुभयो। आवश्यक परेको खण्डमा मात्रै सुधार गरिने स्पष्ट गर्दै, उहाँले समन्वय र परामर्शमा आधारित नीति निर्माणमार्फत बैंकिङ क्षेत्रलाई अझ सबल, समावेशी र दीर्घकालीन विकासतर्फ लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस कार्यमा सबैको साथ र सहयोगको अपेक्षा पनि गर्नुभयो।
कार्यक्रममा बैंकिङ क्षेत्रका विभिन्न प्रतिनिधिहरूले निवर्तमान गभर्नरप्रति कृतज्ञता प्रकट गर्दै नव नियुक्त गभर्नरलाई सफल कार्यकालको शुभकामना दिएका थिए। कार्यक्रममा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू, नायब कार्यकारी अधिकृतहरू लगायतका व्यक्तिहरूको उपस्थिति थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस