Like us!
Follow us!
Connect us!
Watch us!

संचालकले राजीनामा दिएपछि १ वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक : बीमा व्यवसायी संघ

अर्थ संसार

शुक्रबार, ०६ असार २०८२, ०८ : ४१ मा प्रकाशित

संचालकले राजीनामा दिएपछि १ वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक : बीमा व्यवसायी संघ

नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरूले पदबाट राजीनामा दिएपछि पनि एक वर्षसम्म आफू स्वामित्वमा रहेको सेयर बिक्री गर्न नपाउने व्यवस्था पूर्ण रूपमा अव्यवहारिक रहेको भन्दै उक्त नियमको संशोधनको माग गरेको छ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क) अनुसार, संचालकले पदमा बहाल रहँदा वा पद त्यागेको एक वर्षसम्म कम्पनीको सेयर किनबेच गर्न नपाउने प्रावधान छ। संघले सो प्रावधानले व्यवसाय सञ्चालन, सम्पत्ति उपयोग, र लगानी स्वतन्त्रतामा गम्भीर अवरोध सिर्जना गर्ने ठहर गर्दै यसलाई तत्काल संशोधन गर्न आग्रह गरेको हो।

संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सञ्चालकहरू पनि अन्य सेयरधनीसरह लगानीकर्ता हुन्। उनीहरूलाई सेयर विक्रीमा रोक लगाउनु न्यायसंगत होइन।” संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेन्द्र मल्लले सेयर स्वामित्वको उपयोगबाट संचालकलाई बञ्चित गर्ने प्रावधानले व्यवसायको विविधीकरण, घरायसी आवश्यकता र आपतकालीन व्यवस्थापनमा समेत बाधा पुर्याउने बताएका छन्।

संघले नियामक निकायहरूलाई स्पष्ट रूपमा सुझाव दिएको छ कि, “सञ्चालक पदमा बहाल रहँदासम्म मात्रै नियामकलाई जानकारी गराई अधिकतम ५० प्रतिशत सेयर विक्री गर्न पाउने व्यवस्था गरिनु पर्छ।”

अध्यक्ष मल्लका अनुसार, वर्तमान प्रावधानले सेयर बजारको लगानी वातावरण कमजोर बनाउनुका साथै वैदेशिक लगानीकर्ताको विश्वास पनि घटाउने खतरा उत्पन्न भएको छ।

संघले बीमा प्राधिकरण, धितोपत्र बोर्ड लगायत सरोकारवाला निकायहरूलाई पुनः ध्यानाकर्षण गराउँदै, यो प्रावधान तत्काल सच्याइनु पर्नेमा जोड दिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको