स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहको अभिव्यक्तिमा नेकपा एमालेले आपत्ति जनाएको छ।
बजेटमाथिको छलफलको क्रममा सांसद सिंहले सरकारले बजेट केही सीमित जिल्लामा मात्र केन्द्रित गरेको भन्दै बाँकी जिल्लाहरूप्रति बेवास्ता गरेको आरोप लगाए। उनले चार–पाँच जिल्लामा मात्रै बजेट पुगेको भन्दै बाँकी ७२ जिल्लालाई चीन, भारत वा अमेरिका जस्ता देशलाई लिजमा दिनुपर्ने अभिव्यक्ति दिए, जसले सदनमा विवाद सिर्जना गर्यो।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सांसद सिंहको अभिव्यक्तिलाई राष्ट्रघाती भन्दै आपत्ति जनाए। उनले सिंहको भनाइ नेपालको सार्वभौमिकता र अखण्डताविरोधी भएको भन्दै कारबाहीको माग गरे।
‘देशलाई अन्यत्र गाभ्ने जस्तो अभिव्यक्ति देशद्रोही हो। यस्ता भनाइ राख्नेलाई कारबाही गर्नुपर्छ। हामी यस्तो राष्ट्रघाती अभिव्यक्ति सुनेर चुप बस्न सक्दैनौं,’ बर्तौलाले भने।
सत्तापक्षका सांसदहरूले पनि कारबाहीको माग गरेपछि सभामुख देवराज घिमिरेले अमरेशकुमार सिंहको अभिव्यक्तिलाई सदनको रेकर्डबाट हटाउन निर्देशन दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस