लीलानाथ घिमिरे
काठमाडौं–एउटा ब्यवसायी हुन् विश्व मास्के । त्यसभन्दा बढी उनी आफ्नो रेस्टुरेन्टमा खाना तारेपछि बचेको तेलबाट बायोडिजल बनाउने प्लेन्टका आविस्कारक हुन् । बौद्धमा जि क्याफे संचालन गर्दै आएका मास्के आफ्ना ग्राहकको स्वास्थ्यप्रति सचेत छन् । त्यसैले उनी खाना तारेर बचेको तेल कहिल्यै दोहोर्याएर प्रयोग गर्दैनन् । बरु त्यस्तो तेललाई आफैंले डिजाइन गरेको प्लान्टमा राखेर प्रसोधन गर्छन् । यसरी तयार भएको बायो डिजलबाट उनी गाडी चलाउँछन् ।
बौद्धका ब्यवसायी विश्व मास्केको बाबुबाजे परंपरादेखि ब्यापार ब्यवसाय गर्दै आएका थिए । विश्वले आफ्नो पालो आएपछि भने परंपरागत ब्यवसायलाई आधुनिक रुप दिएका छन् ।
एकछिन हेरौं उनले बनाएको प्लान्टलाई । उनले आफ्नै डिजाइनमा स्थापना गरेका हुन् बायोडिजल प्लान्ट । प्लान्टको एउटा ट्यांकीमा डढेको तेल राखिएको छ । यस ट्यांकीलाई गुडाउन मिल्ने गरि बनाइएको छ ।
अर्को ट्याँकीमा मेथल हाइड्रो अक्साइड र कास्टिक सोडालाई तोलको मात्राअनुसार गणना गरेर राखिन्छ । त्यसपछि दुवैको घोललाई ३० देखि ४० डिग्रिमा रियाक्सन गराइन्छ । त्यहाँ वासिङ मेसिनको पार्ट हुन्छ । त्यहाँ लुगा धोएजस्तै गरी डढेको तेललाई धोइन्छ । योक्रम २४ घन्टासम्म हुन्छ । त्यस मेसिनको तल ड्रेन पाइप हुन्छ । त्यहाँ ग्लिसिरिन छुट्टिन्छ ।
त्यसपछि डिजेल छुट्टिन्छ । त्यसमा पनि केही मात्रामा अल्कोहललगायतका रसायनको मात्रा हुन्छ । त्यसलाई फेरि तातो पानी दिएर धोइन्छ । लुगा धोएर तताएर सुकाएकै प्रक्रिया यसमा हुन्छ । पानी दिँदै धुँदै, सुकाउँदै गरेर अन्ततः डिजल तयार हुन्छ । यस्तो क्रम ३६ घन्टा गरेपछि डिजल तयार हुन्छ ।
यस्तो तेललाई सिधै गाडीमा हाल्न सकिने मास्केले बताए । आपत परेका बेला मट्टितेल नपाएकाले त्यही तेलले स्टोभ बालेको उनले बताए । ‘यसलाई उद्योगमा समेत प्रयोग गर्न सकिन्छ’, उनले भने ‘यस्तो तेलबाट बाइप्रोडक्ट ग्लिसरिन पनि तयार गर्न सकिन्छ ।’
उनले कसरी यस्तो प्रविधिको विकास गरे ?
उनी नयाँ प्रविधिबारे सोधखोज गरिरहन्थे । भारतले नाकाबन्दी गरेको थियो । यसले गर्दा तेलको हाहाकार भएको थियो । त्यतिखेर उनलाई गाडी चलाउन धौधौ भयो । ‘हामीसँग म्याद गुज्रिएको खाने तेल थियो,’ उनले भने, ‘त्यही तेललाई गाडीमा प्रयोग गरेका थियौं । त्यसले निकै धुवा आउने भयो ।’
उनी डिस्कभरी च्यानल हेर्थे । म्याकडोनाल्डले फ्रेन्चफ्राइ बनाएको तेलले गाडी चलाउँछ भन्ने उनले थाहा पाए । त्यसपछि उनले आफैं किन यसको प्रयोग नगर्ने भनेर यस्तो प्रविधि विकासमा । उनले विज्ञान पढेका हैनन् । न उनलाई यस्तो प्रविधिबारे पर्याप्त ज्ञान छ । उनी आफैंले अध्ययन गर्दै यस्तो प्रविधि विकासमा लागेका हुन् ।
उनले पञ्चकन्याको स्टिलको पानी ट्याँकीलाई यस्तो मेसिन बनाउन प्रयोग गरेका छन् । त्यसमा स्वीच बोर्ड उनले आफैं तयार गरे । वासिङ मेसिनको अगाडिको भाग, पानी तताउने ट्याँकीलगायतका सामग्री जोडेर उनले मेसिन तयार गरेका छन् । ‘यो सामान्य प्रविधि हो,’ उनले भने,‘मानिस यसलाई कठिन प्रविधि ठान्छन् । त्यसैले प्रयोग गर्दैनन् ।’
उनले अहिले यस मेसिनलाई सेमी अटोमेटिक बनाएका छन् । केही सफ्टवेयर, टाइमर आदि प्रयोग गरेर यस लाई स्वचालित बनाउन सकिने उनले बताए ।
यसरी डिजल उत्पादन गरेपछि उनले आफैंले प्रयोग गरे । ‘बायो डिजल प्रयोग गरेर ५० हजार किलोमिटर जति गाडी गुडाइसकेको छु,’ उनले भने । मेसिन सेमी अटोमेटिक भएकाले धेरै कुरा हातैले गर्न पर्छ । त्यसले मिथाइल अल्कोहललगायतका केमिकल राख्दास्वास्थ्यमा असर गर्न सक्छ । त्यसैले उनी यस मेसिनलाई स्वचालित बनाउने योजनामा छन् ।
रेस्टुरेन्ट, पार्टी प्यालेसलगायतले पुरानो तेल बारंबार उपयोग गर्ने गरेका छन् । केही रेस्टुरेन्टले यस्तो तेल सडकमा खाना पकाउने स्टल राख्नेहरुलाई बेच्छन् । यसले मानिसको स्वास्थ्यमा गंभिर असर पार्न सक्छ । ‘यस्तो तेलमा पकाएको खाना खानु विष खाएजस्तै हो,’ मास्के भन्छन् ।
यस्तो तेलबाट बायोडिजल उत्पादन गर्ने प्रविधि भए होटल, रेस्टुरेन्टहरुले खाना तारेको तेल पुन प्रयोग गर्ने थिएनन् । महानगर, नगरपालिकाले यस्तो तेल संकलन गरेर मेसिनबाट प्रसोधन गरी प्रयोगमा ल्याउन सक्ने मास्केको भनाइ छ ।
उनका अनुसार समान्य प्रसोधन मेसिन ३ देखि ४ लाख रुपैयाँमा बनाउन सकिन्छ । यति मूल्यमा पाए हरेक रेस्टुरेन्टले यस्तो प्लान्ट राख्न सक्छन् । नगरपालिकाले तेल संकलन गरिदिए ठूलो प्लान्ट डिजाइन गरिदिने उनले बताए ।
उनले बौद्धमा आफ्नै जि क्याफे संचालन गरिरहेका छन् । उनले त्यहाँ खाना तारेर उब्रिएको तेल प्रसोधन गरेर बायोडिजल बनाउँछन् । त्यही तेलले उनको रेस्टुरेन्टको गाडी गुड्छ ।
यसलाई कसरी सस्तोमा उपलब्ध गराउने भनेर लागिरहेको उनी बताउँछन् । यस प्लान्टको प्याटेन्ट राइट दर्ता गराएपछि ब्यवसायिक रुपमा उत्पादन गर्न दिने उनको योजना छ ।
‘मलाई पेटेन्ट प्रयोग गरेको कसैले पैसा तिर्नु पर्दैन,’ उनी भन्छन्, ‘मलाई नाममात्र दिए हुन्छ । सबैलाई प्रविधि सिकाउन तयार छु ।’ उनले पेटेन्ट दर्ता गरेपछि आफ्नो प्रविधि सार्बजनिक गर्ने बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस