पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयक (बाफिया) हतारमा पारित गरेमा सकारात्मक परिणाम आउन नसक्ने चेतावनी दिएका छन्।
बिहीबार अर्थ समितिमा आयोजित बाफिया विधेयकसम्बन्धी छलफलमा भाग लिँदै उनले अन्तर्राष्ट्रिय अभ्यासका आधारमा गम्भीरतापूर्वक कानुन निर्माण गर्नुपर्ने बताए। उनका अनुसार यस्ता विधेयकहरू अर्थतन्त्रलाई बलियो बनाउने खालका हुनुपर्छन्।
सांसद कार्कीले बाफियामा व्यापक सुधार गर्दै मुलुकको सुस्त अर्थतन्त्रलाई गति दिने खालको व्यवस्था गर्नुपर्नेमा जोड दिए। उनले भने, 'न्यूनस्तरका कृषक र स्टार्टअपहरूलाई कर्जा दिने नीति कसरी बनाउने भन्नेबारे सोच्नुपर्छ। गभर्नर र अर्थमन्त्रीलाई समेत सहभागी गराई आवासीय कार्यक्रमको माध्यमबाट गहिरो छलफल गर्नु आवश्यक छ।'
कृषिमा आधारित अर्थतन्त्र भएको देशमा चामलजस्ता वस्तुमा आत्मनिर्भरता ल्याउन कृषि क्षेत्रमा लगानी कसरी गर्न सकिन्छ भन्नेबारे पनि विचार गर्नुपर्ने उनको भनाइ छ।
बैंकप्रति जनताको विश्वास बढ्नुपर्ने उल्लेख गर्दै उनले भने, 'बैंकप्रति जनताको भरोसा घट्यो भने राज्यको प्रणाली नै असफल हुन्छ। बैंकमा तरलता छ, तर व्यवसायीहरू लगानी गर्न हिच्किचाइरहेका छन्। उद्यमशीलतामा प्रोत्साहन नहुँदासम्म अर्थतन्त्र अघि बढ्दैन।'
उनले ऋण लिँदा सर्वसाधारणले अझै सहज अनुभूति गर्न नसकेको बताए। 'एक करोड रुपैयाँभन्दा कम ऋण लिन बैंक जाँदा जनताले निकै सास्ती भोग्नुपरेको छ,' उनले भने, 'धितोको नाममा अनावश्यक झन्झट दिइएको छ, जुन सुधार गर्न आवश्यक छ।'
Ask ChatGPT
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस