ग्लोबल आइएमई क्यापिटल लिमिटेडले सञ्चालित म्युचुअल फण्ड योजना ‘ग्लोबल आइएमई समुन्नत योजना २’ मा आवेदन दिने समयसीमा आज (असार २७ गते) समाप्त हुँदैछ। असार २२ गतेदेखि खुला गरिएको यो सामूहिक लगानी योजना प्रति इकाई १० रुपैयाँ दरमा सार्वजनिक निष्कासनका लागि खुला गरिएको थियो।
यस योजनाको प्रारम्भिक कोष आकार १ अर्ब २० करोड रुपैयाँ रहेको छ। तर, ग्रीनसुओ अप्सन अन्तर्गत अधिकतम २५ प्रतिशतसम्म कोष विस्तार गर्न सकिने प्रावधानसहित कुल कोष आकार १ अर्ब ५० करोड रुपैयाँ पुर्याउने सम्भावना क्यापिटलले जनाएको छ। बिहीबार साँझसम्मको तथ्यांकअनुसार यस योजनामा १ अर्ब २० करोड ६८ लाख रुपैयाँभन्दा बढीको आवेदन परिसकेको छ, जसले कोष आकार लक्षित सीमामा पुग्ने स्पष्ट संकेत गरेको छ।
ग्लोबल आइएमई क्यापिटलले यो योजना सन्तुलित लगानी रणनीति अनुसार सञ्चालन गर्ने जनाएको छ। इक्विटी र निश्चित आम्दानी दिने साधनहरूमा लगानीमार्फत दीर्घकालीन लाभ दिने उद्देश्य लिएको योजनाले म्युचुअल फण्ड नियमावली २०६७ का सबै प्रावधानहरूलाई पूर्ण पालना गर्ने बताइएको छ।
योजनाले वार्षिक औसत प्रतिफल २२.४९ प्रतिशत रहने प्रक्षेपण गरेको छ। उक्त अनुमानका आधारमा १० वर्षको अवधिमा लगानीकर्ताले २२४.९६ प्रतिशत सम्म प्रतिफल प्राप्त गर्ने विश्वास क्यापिटलको छ। योजनाको आन्तरिक प्रतिफल दर (IRR) करिब १६.८८ प्रतिशत रहने देखाइएको छ। पहिलो ९ वर्षसम्म योजनाले ८ देखि २० प्रतिशतसम्मको लाभांश वितरण गर्ने सक्ने क्यापिटलको भनाइ छ।
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत यसअघि सञ्चालनमा रहेका योजनाहरूको प्रदर्शन पनि उल्लेखनीय रहेको छ। विशेषगरी समुन्नत योजना १ ले ७ वर्षमा १०४ प्रतिशत लाभांश वितरण गरिसकेको छ भने १०.१६ प्रतिशत फन्ड पुनर्खरीद प्रतिफल प्रदान गरेको छ। त्यस्तै, ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ को कोष आकार हाल १ अर्ब २ करोड ५० लाख रुपैयाँ नाघिसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस